
काठमाडौं । इङ्लिस क्लब आर्सनलविरुद्ध समग्रमा ३–१ को जित निकाल्दै फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।
बुधबार पार्क डेस प्रिन्सेस रंगशालामा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली पीएसजीले २–१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । यअसघी पीएसजीले पहिलो लेगमा १–० को जित निकालेको थियो ।
पीएसजीलाई जित दिलाउन फाबियन रुइज र अकरफ हाकिमीले गोल गरे । आर्सनलका बुकायो साकाले गोल गरे ।
खेलको २७औँ मिनेटमा रुइजको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । ६९औँ मिनेटमा भिटिन्हा पेनाल्टीमा चुक्दा पीएसजीले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।
हाकिमीले ७२औँ मिनेटमा गोल गर्दा पीएसजीको अग्रता दोब्बर भयो । त्यसको चार मिनेटपछि साकाले गरेको गोल आर्सनलका लागि सान्त्वना बन्यो ।
पीएसजी सन् २०१९/२० को सिजनपछि फाइनलमा पुगेको हो । त्यसबेला जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित हुँदा पीएसजी उपाधिबाट बञ्चित भएको थियो ।
पीएसजीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टर स्पेनिस क्लब बार्सिलोनालाई समग्रमा ७–६ ले हराउँदै उपाधिनजिक पुगेको हो ।