
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो ।
बैठकमा निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ । निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए ।
त्यस्तै, प्रारम्भिक बाल विकास शिक्षालाई दुई वर्षको बनाउने सहमति भएको छ । स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्ने गरी सहमति भएको सभापति थापाले जानकारी दिए ।
त्यस्तै, ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने प्रावधान पारित भएको उनले बताए ।
हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलोपटक सहभागी हुन उमेरको हद नलाग्ने, सेवा सुविधा स्थानीय तहले तोक्ने र बाल विकास सहजकर्ताका लागि कक्षा १२ उतिर्ण हुनुपर्ने लगायतका प्रावधान विधेयकमा राखिएको छ । समितिको बैठक शनिबार पनि बोलाइएको छ । शनिबार नै उक्त विधेयक पारित गर्ने समितिको तयारी छ ।