
नेपालगञ्ज । बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९, ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते भएका छन् । घाइते ओलीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुंगो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ । रासस