site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुमार्गी आर्थिक संकटमा, बैंकले निकाल्यो धितो लिलामको सूचना 

काठमाडौं । एक दशकअघिसम्म राजगज गरेका व्यवसायी अजेयराज सुमार्गी अहिले गम्भीर आर्थिक संकटमा परेका छन् ।  केही दिनअघि आन्तरिक राजस्व विभागले कर नतिरेपछि कानुनी कारवाही अघि बढाउने तयारी गरेका बेला प्रभु बैंकले ऋण तिर्न ३५ दिन ‘अल्टिमेटम’ दिएको छ । 

तोकिएको समयभित्र ऋण चुक्ता नगरे धितो लिलामी अघि बढाउने चेतावनी बैंकले दिएको छ ।  सुमार्गीको मुक्तिश्री हस्पिटालिटीले पाँचतारे होटल बनाउन भनेर लिएको ऋण नतिरेपछि तिर्न आउन बैंकले ३५ दिनको समय दिएको हो । 

मुक्तिश्री हस्पिटालिटी २०७१ वैशाखमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

Argakhachi Cement Island Ad

सुमार्गीले साढे २० करोड कर नतिरेपछि सम्पत्ति लिलाम गरेर असुल्ने सरकारकाे चेतावनी 

सुमार्गीले होटल बनाएका छैनन् । बैंकले मुक्तिश्रीको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता भएको ६ रोपनी जग्गा, मुक्तिश्री हस्पिटालिटी र नेपाल चर्चिल होटलको संयुक्त नाममा मालपोत कार्यालयमा दर्ता भएको २ रोपनी १ आना जग्गा लिलामी गर्ने चेतावनी बैंकले दिएको छ । 

ऋणीहरुले लिएको कर्जाको ब्याज तथा किस्ता (साँवा र ब्याज) भुक्तानी सम्बन्धी शर्त उलंघन गरेको बैंकबाट पटक पटक मौखिक एवं लिखित ताकेता गर्दासमेत सो को पूर्ण बेवास्ता गरी कर्जा नियमित तथा चुक्ता गर्नेतर्फ चासो नदेखाई आलटाल गरेको आरोप बैंकले लगाएको छ ।

‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र ऋण चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण रकम रकम फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षणधनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ’ बैंकले भनेको छ । 

कर्जा चुक्ता नगरे ऋणी जमानतकर्तालगायतलाई नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने चेतावनी बैंकले दिएको छ । कानुन बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकल असूल गर्ने जानकारी दिएको छ । 

यसअघि २०७३ मा मुक्तिश्रीले पाँचतारे होटल निर्माणको घोषणा गरेको थियो ।  कम्पनीले काठमाडौंमा होटल सञ्चालन गर्ने गरी उद्योग विभागमा दर्ता गरेको हो ।  विभागका अनुसार मुक्तिश्री हस्पिटालिटीको नाममा उद्योग विभागमा होटल दर्ता भएको थियो ।

मुक्तिश्रीले पाँच अर्बमा पाँचतारे होटल बनाउने

पाँचअर्ब रुपैयाँ लगानी गर्ने लक्ष्यसहित दर्ता भएको होटलमा २ सय ५० कोठा तथा २ सय ५० सिट क्षमताको रेस्टुरेन्ट निर्माण हुने कम्पनीद्वारा विभागलाई जानकारी दिएको थियो । तर, सुमार्गीले होटल बनाएनन् । 

टेलिकम्युनिकेसन, जलविद्युत्, रियल इस्टेटलगायत विविध क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्रीले होटल निर्माणमा पहिलोपल्ट लगानी गर्न लागेको जानकारी दिएको थियो ।

सन् २०१३ को अन्त्यतिर नै मुक्तिश्रीले राजधानीमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा होटल सञ्चालनमा ल्याउने गरी कम्पनीले विभागमा दर्ता गराएको थियो । 

कम्पनीले यसअघि सन् २०१६ को अन्त्यसम्ममा सेवा प्रारम्भ हुने गरी पाँचतारे होटल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

साढे २० करोड कर तिर्न बाँकी

सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेका छन् ।  उनको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । लामो समयदेखि बक्यौता कर नतिरेपछि राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन उनलाई समय दिएको छ । 

कर नबुझाए बैंक खाता र घरजग्गा रोक्का गरी लिलामी प्रक्रिया अघि बढाउने चेतावनी कार्यालयले दिएको छ ।  यस्तै मुलुकबाहिर जानसमेत रोक्ने जानकारी कर कार्यालयले दिएको छ । नवीकरण शुल्क बुझाउन नसकेपछि सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकम कम्पनीको लाइसेन्स सरकारले खारेज गरेको छ । उनले हेलो नेपाल ब्रान्डबाट मोबाइल सेवा सुरु गरेका थिए । 

सुमार्गी उच्च राजनीतिक पहुँच भएका व्यवसायीका रूपमा चिनिन्छन् । छोटो समयमा उनले गरेको अस्वाभाविक आर्थिक विस्तार गरेका थिए । तर पछिल्लो समय उनी समस्यामा पर्दै गएका छन् । सुमार्गीले विदेशबाट प्रत्यक्ष वैदेशिक लगानीका रूपमा ठूलो रकम नेपाल भित्र्याएको आरोप लाग्दै आएको थियो । 

उनले कर नलाग्ने (ट्याक्स हेभन) मुलुक भर्जिन आइल्यान्डबाट स्रोत नखुलेको रकम नेपाल ल्याउने गरेको आरोप लाग्दै आएको थियो । नेपाल राष्ट्र बैंकले रोक्का गरेको झण्डै ४ अर्ब रुपैयाँ निकासा गर्न पाउँ भन्दै व्यवसायी सुमार्गीले अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए ।

२०७४ माघमा सर्वोच्च अदालतले त्यसमध्ये २ अर्ब १४ करोड नरोक्न अन्तरिम आदेश दिएको थियो । सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकस्थित खातामा आएको तीन करोड ८५ लाख अमेरिकी डलर रोकिएको थियो । 

उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्रअनुसार बैंकले बाँकी निकासा रोकेको थियो । सुमार्गीले सो रकम विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भन्दै भित्र्याएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्