
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले लागुऔषध दुर्व्यसनरहित घर अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यमा लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम बूढानीलकण्ठ नगरपालिका, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौं, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठको संयुक्त आयोजनामा भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदानप्रदान समेत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले लागुऔषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रणका निम्ति प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागुऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताए ।