
विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ देवझोडा बस्ने ३७ वर्षीय नईन्द्र विश्वकर्मा ०८० सालमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गए । बहराइन पुगेर काम र्गा समेत सुरु गरे । तर, उनले जे सोचेर वैदेशिक रोजगारमा गएका थिए त्यस विपरीतको परिस्थिति बन्यो । एक वर्ष नपुग्दै उनको मृगौलामा समस्या देखिन पुग्यो । गम्भीर बिरामी भएपछि उनी नेपाल फिर्ता आए ।
उपचारकै क्रममा उनको मृत्यु भयो । उनले बिमा गराएका थिए । तर, हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बिमाबापतको रकम बिमा कम्पनीका म्यानेजरले नै खाइदिए । बिमाबापत १३ लाख रुपैयाँ परिवारले पाउनुपर्ने थियो । तर, रकम लिन सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, विराटनगर शाखामा जाँदा सो कम्पनीका म्यानेजर मोरङको विराटनगर महानगरपालिका–३ बस्ने सन्तोष अधिकारीले जालसाजी गरी आफूले समेत लिएको भेटियो ।
बिमासम्बन्धी ज्ञान नभएकी दाबीकर्ता मृतककी श्रीमतीलाई बिमा भुक्तानको लागि तयार गरेको विभिन्न कागजातहरूमा सहीछाप गर्न लगाई, ग्लोबल आईएमई बैंकमा एकल र संयुक्त खाता खोल्न लगाई खाली चेकहरूमा सहीछाप गर्न लगाए । पीडितका अनुसार, चेक लिएर आफूले राखेकोमा बिमा रकम भुक्तानी लिन बैंकमा जाँदा सात लाख ७६ हजार मात्र प्राप्त हुने भन्ने जानकारी बैंकमा बताइयो । त्यस सम्बन्धमा मृतककी श्रीमती भीमकुमारी विश्वकर्माले जिल्ला प्रशासन कार्यालय मोरडमा निवेदन दिइन् । यस विषयको अनुसन्धान गरेपछि बिमा म्यानेजरले रकम अपचलन गरेको खुलासा भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले भने, "प्रारम्भिक अनुसन्धानका क्रममा निज सन्तोष अधिकारीले आफूखुसी भीमकुमारी विश्वकर्माको नाममा १५ वर्ष अवधिको वार्षिक ७० हजार रुपैयाँ निजका भदा नाताका प्रतिक विश्वकर्मा र मृतकको जेठी श्रीमती मीरा विश्वकर्माको नाममा क्रमशः वार्षिक ५१ हजार र ७० हजार तिर्नुपर्ने गरी बिमा गरी आर्थिक भार सिर्जना गरेको देखियो ।"
अधिकारीलेले भीमकुमारीको नाममा खोलाएको ग्लोबल आईएमई बैंकमा १५ वर्ष अवधिमा ६ लाख ४४ हजार १७८ रुपैयाँ राखिदिने कार्य गरेको पाइएको डीएसपी जोशीले बताए । झुक्यानमा पारी विश्वासघात गरी ठगी गर्ने अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात गरी ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।