
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अंकतालिकाको पुछारमा रहेको चेन्नाई सुपर किंग्ससँग कोलकाता नाइट राइडर्सले दुई विकेटको हार व्यहोरेको छ । बुधबार इडेन गार्डेन्समा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको १८० रनको लक्ष्य चेन्नाईले दुई बल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नाईको जितमा डिवाल्ड ब्रेभिसले २५ बलमा ५२ रन बनाए । उनले त्यसक्रममा चार चौका र चार छक्का प्रहार गरे । शिवम दुबेले ४५, उर्भिल पटेलले ३१, रवीन्द्र जडेजाले १९ र कप्तान महेन्द्रसिंह धोनीले अविजित १७ रन बनाए ।
कोलकाताका वैभव अरोराले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो ।
कोलकाताका कप्तान अजिंक्य रहाणेले ४८ रन जोडे । आन्द्रे रसेलले ३८ रन, मनीष पाण्डेले अविजित ३६, सुनील नारायणले २६ र रहमनुल्लाह गुर्बाजले ११ रन बनाए ।
चेन्नाईका नुर अहमदले चार विकेट लिए । अन्सुल काम्बोज र रवीन्द्र जडेजाले समान एक विकेट लिए ।
हारसँगै कोलकाता १२ खेलबाट ११ अंकसहित छैटौँ स्थामा छ । चेन्नाई समान खेलबाट ६ अंक जोड्दै पुछारमा छ ।