
काठमाडौं । च्याम्पियन लिग क्लब आर्सनलका मिडफिल्डर डेक्लान राइसले फाइनलमा स्थान बनाउन टोलीलाई थप मिहिनेत आवश्यक रहेको बताएका छन् ।
च्याम्पियन लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा भोलि पेरिस सेन्ट जर्मन (पीएसजी) र आर्सनल प्रतिस्पर्धा गर्दै छन् । यही खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउन टोलीलाई थप मिहिनेत आवश्यक रहेको मिडफिल्डर डेक्लानले बताएका हुन् ।
“लिगको क्वार्टर फाइनलमा मैले टोलीका निम्ति दुई सुन्दर गोल त गरेको थिएँ । तर भोलिको रात, सेमिफाइनलमा मलाई लाग्छ जादु गर्ने कोही न कोहीको खाँचो पर्न सक्छ,” खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा डेक्लानले भने, “आशा छ, त्यो व्यक्ति म पनि हुनसकूँ, तर खेल जित्न एउटा न एउटा जादु चाहिन्छ । आशा छ, हामी भोलिको रात विशेष प्रदर्शन गर्नेछौँ ।”
यसअघि गत अप्रिल ३० मा सेमिफाइनलअन्तर्गत पहिलो लेगमा आर्सनलले पीएसजीसँग १–० को हार व्यहोरेको थियो । हारबाट समग्रमा एक गोलले पछि परेको आर्सनललाई दुईभन्दा बढीको अन्तरको जित निकाल्नुपर्ने दबाब छ ।