-1746525819.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राख्ने आफ्ना कर्मचारीमाथिको कारबाहीलाई तीव्रता दिएको छ ।
सशस्त्रले संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा संगठनको पोसाक लगाएर विभिन्न क्रियाकलाप गर्ने, तस्बिर तथा भिडियो अपलोड गर्ने एक सय ६६ जना कर्मचारीलाई विभागीय कारबाही गरेको हो ।
कारबाही पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका कर्मचारी रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पछिल्लो दुई वर्षको अवधिमा व्यक्तिगत प्रोफाइलमार्फत सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाएर भिडियो तथा तस्बिर फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायत सामाजिक सञ्जालमा अपलोड गर्नेहरू कारबाहीमा परेका हुन् ।
“कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार नौ जना, हवल्दार पाँच जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन्,” डीएसपी थापाले भने, “उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको छ ।” त्यसमध्ये एक सय १८ जनालाई नसिहत दिइएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरीले संगठनबारेमा प्रकाशित भएका समाचारमा नकारात्मक टीकाटिप्पणी गर्ने आफ्ना कर्मचारी समेतलाई कारबाही गर्दै आएको छ । संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरिएको प्रवक्ता थापाले जानकारी दिए ।
यसैगरी चारजना कर्मचारी कारबाहीको प्रक्रियामा रहेका छन् । प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयमा आदेशात्मक पत्राचार गर्दै सशस्त्र प्रहरी सहायक हवल्दार एकजना र जवान तीनजनालाई कारबाही गर्न आदेश दिएको प्रवक्ता थापाले जानकारी दिए ।