
काठमाडौं । वसन्तपुरमा काठमाडौं महानगरपालिकाको नगरप्रहरीले एक व्यक्तिमाथि लाठीचार्ज गरेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा दुईजना नगरप्रहरीले समातेर अर्को दुईजना महिला नगरप्रहरीले पालैपालो ती व्यक्तिलाई लाठीले हिर्काएको भिडियो बाहिरिएको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार भिडियो १८ गते बिहीबार बेलुकाको हो । उछृंखल गतिविधि गरेपछि मानसिक सन्तुलन गुमेका ती व्यक्तिमाथि लाठी चार्ज भएको बताए ।
“मानसिक सन्तुलन गुमाएको मान्छे हो । बसन्तपुरमा हाम्रो टिकट काउन्टर छ । त्यहाँ खटिएकी नगरप्रहरीको संवेदनशील अंग समाउने, आफैँ नांगो बन्ने, गमला फुटाइदिने, डिभाइडर फुटाइदिने गरेपछि त्यस्तो गरिएको हो,” पाण्डेले भने ।
उनका अनुसार ती व्यक्ति कहाँ बस्छन, घर कहाँ हो भन्नेबारे केही पनि खुलेको छैन । “यो मान्छे पहिले नै प्रहरीले पटक–पटक पक्राउ गर्दै छाडिसकेको रैछ । अहिले प्रहरीले पनि बुझ्न मान्दैन,” उनले भने ।