
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ भनेर प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा सांसद पराजुलीले सरकार सञ्चालनको १० महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएकोप्रति आपत्ति जनाए । उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्तासमेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको आरोप लगाए ।
"तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको १० महिना पूरा भइसक्यो । जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये सात अर्बमात्र जीबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । नौ अर्बको भागेदार कोको हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जीबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो ?," उनले प्रश्न गरे ।
सांसद पराजुलीले रास्वपाले सहकारीपीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गरे ।
"रास्वपाले सहकारीका समस्या समाधान गर्न आवाजमात्र उठाएको छैन । सहकारीपीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिल्लो वर्ष सुझाव नै पेस गरेको छ," उनले भने ।