site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकमा लगानी गरेकै आधारमा ऋण नदिने व्यवस्था ठीक छैन : पूर्वबैंकर क्षेत्री

काठमाडौं । पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले बैंक तथा वित्तीय संस्थामा लगानी गरेकै कारण ऋण नदिने व्यवस्था व्यवहारिक नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा क्षेत्रीले सञ्चालक समितिमा व्यवसायिक व्यक्ति ल्याउनुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बित्तिकै त्यसलाई बैंकिङ क्षेत्रले लोन नदिने व्यवस्था उपयुक्त नहुने उनको भनाइ छ । पैसा हुनेले लगानी गर्ने भन्दै क्षेत्रीले बैंकमा लगानी गरेकै आधारमा अरू क्षेत्रका कम्पनीमा लगानी गर्ने बैंकका लगानीकर्तालाई ऋण नदिने व्यवस्था समस्या निम्तिने बताए  ।

Argakhachi Cement Island Ad

“बैंक तथा वित्तीय संस्थामा लगानी गरेकै कारण अरू विजनेसमा लोन दिन्न यसको प्रभाव के हुन्छ ? यसको विषयमा राम्रोसँग छलफल गर्नुपर्छ,” उनले भने, “यसमा हामीले जबरजस्ती डिस्क्लोजरका कुराहरू राख्नुपर्छ । लोन दिने, तर फ्रिक्विन्ट्ली डिस्क्लोजर रूपमा हुनुपर्छ । बोर्डमा चाहिँ राम्रो खालको व्यक्ति आउनुपर्छ ।”

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० ले मूल ऐनको दफा ५२ मा संशोधन गरी बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेले ऋण लिन नपाउने व्यवस्था गर्न लागेको हो । यो विधेयकमा दफा १९ मा मूल ऐनको दफा ५२ लाई संशोधन गरेर कारोबार तथा कुनै काम गर्न नपाउने व्यवस्था गर्न लागेको छ ।

मूल ऐनको दफा ५२ को उपदफा १ मा बैंक वा वित्तीय संस्थाले आफूसँग सम्बन्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने व्यवस्था गर्न लागिएको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्