
काठमाडौं । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर ल्याइएको निष्कर्ष निकालेको छ । शनिबार (वैशाख २०) नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।
“हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्, जुन राष्ट्रिय आवश्यकताहरू हुन्,” उनले भने ।
कांग्रेसको मागबमोजिम नै ल्याइएकाले नीति तथा कार्यक्रमलाई समर्थन गरिने उनले उल्लेख गरे । उनले कांग्रेस सांसदले संसद् बैठकमा नीति तथा कार्यक्रमका पक्षमा बोल्ने जानकारी गराए । नीति तथा कार्यक्रमका बारेमा कांग्रेसले सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने पनि उनले बताए ।
“ती कार्यक्रमहरू हामीले पनि चाहेका कुराहरूलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने, समर्थन गर्ने निर्णय भएको छ,” उनले भने ।
नीति तथा कार्यक्रम सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने, “नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ । अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।”
प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी कांग्रेसले भूमिका खेल्ने बताए । विधेयक निर्माणमा सांसदको भूमिका सुस्त हुँदा धेरै विषयमा प्रभाव परेको उनले उल्लेख गरे । विधेयक निर्माणको गतिलाई तीव्रता दिन कांग्रेसले सक्रियतापूर्वक संसद् र समितिहरूमा काम गर्ने उनको भनाइ थियो ।
उनले शिक्षकसँग गरिएको सहमतिअनुसार आउँदो असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसद्बाट पारित गर्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय भारतको उडिशास्थित कलेज र पहलगाम तथा बेलायतमा भएको नेपालीको मृत्यु घटनाको निन्दा र दुःख व्यक्त गरिएको छ । ती घटना जाँचबुझका निम्ति माग गर्ने निर्णय गरिएको उनले जानकारी दिए । न्युज एजेन्सी नेपाल