
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीको सुझावानुसार नै नेपालमा परिवारले मत दिने संस्कार विकास भएको बताएका छन् । बिहीबार (वैशाख १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्न भन्छन्, त्यही दलको चुनाव चिह्नमा अभिभावकले भोट हाल्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको उनले उल्लेख गरे । “गत चुनावहरूमा के देखियो भने छोराहरूले जे निर्देशन गर्यो, किनभने उसले पैसा पठाइदिन्छ, हातमुख जोड्छ,” उनले भने, “घरको श्रीमती होस्, आमा होस्, बाबु होस् – त्यो बाहिरबाट जे निर्देशन आउँछ, त्यही निर्वाचन चिह्नमा भोट हाल्ने प्रक्रिया पनि चलेको छ ।”
नेपालको कुल युवा जनसंख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले कांग्रेसको जनसम्पर्क समितिले उनीहरूसँग सम्पर्क बढाउनुपर्नेमा श्रेष्ठले जोड दिए । पञ्चायती व्यवस्थामा पासपोर्ट नबन्दा विदेश जान प्रायः असम्भव भएको उनको भनाइ थियो ।
उनले बहुदलीय प्रजातन्त्रको स्थापनापछि नेपाली अध्ययन, रोजगारी र विभिन्न अभिप्रायले विदेश जाने वातावरण निर्माण भएको बताए । “पञ्चायतको बेलामा विदेश जाने भनेको अर्कै कुरा थियो, सोच्नै नसक्ने अवस्था थियो । पासपोर्ट व्यवस्थै थिएन भने पनि हुन्छ,” उनले भने, “डेमोक्रेसी आयो, पासपोर्ट बन्यो । कोही विद्यार्थी भिसामा, कोही वर्किङ भिसामा गरेर अहिले संसारभर अमेरिकादेखि युरोप, जापान, खाडी मुलुकमा फैलिएर बसेको छ ।”
पूर्वउपसभापति श्रेष्ठले खाडीलगायत ठूलो संख्यामा प्रवासी नेपाली रहेका देशमा संगठन विस्तार गरी कांग्रेसका पक्षमा जनमत हुने वातावरण सिर्जना गर्न जनसम्पर्क समितिलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल