
काठमाडौं । पछिल्लो समय समाजमा निराशा बढ्दै गएका कारण सकारात्मक सन्देश दिने लेखकको खाँचो रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताएका छन् । लोकतन्त्र समृद्ध पार्न विद्वान्हरू एकजुट हुनुपर्ने पाण्डेले औँल्याए ।
मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै पाण्डेले लोकतन्त्रविना लेखकको अस्तित्व नहुने दाबी गरे ।
हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आशा र सकारात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता रहेको बताए । लोकतन्त्रप्रति समर्पित विद्वान्हरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने उनले स्मरण गरे ।
‘राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’ बीपीको आशय उल्लेख गर्दै उनले लोकतन्त्रमा लेखकलाई नियन्त्रण गर्न खोज्नु अनुचित हुने धारणा राखे । “लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो । लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन । लेखक र लोकतन्त्र एक–अर्काका पर्यायवाची हुन्,” उनले भने ।
पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गर्दै उनले राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखे ।
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइँलासहित ३२ जनालाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो ।