
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह १० सदस्यीय भ्रमण टोलीसहित मंगलबार (वैशाख १६) नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा शाह एक साताका निम्ति त्यहाँ गएका हुन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित उनले सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा त्यहाँ छलफल गरिने जानकारी दिए । उनका अनुसार, टोलीले भारतका दिल्ली, देहरादुन, अयोध्या, लखनऊसहितका क्षेत्रको भ्रमण गर्नेछ ।
मुख्यमन्त्री शाह नेतृत्वको भ्रमण दल मंगलबार दिल्ली गएर बस्नेछ । बुधबार भारतका संघीय मन्त्रीसँगको भेटपछि विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनका अधिकारीसँग अन्तरक्रिया गरिनेछ ।
भारतीय कृषि अनुसन्धान संस्था, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्र, देहरादुनको कृषिसहित पर्यटकीयस्थलको भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषिमन्त्रीसँगको भेटपश्चात् टोली लखनऊबाट स्थलमार्ग हुँदै कैलाली फर्कने कार्यक्रम रहेको शाहको सचिवालले जनाएको छ ।
शाहले आफ्नो भ्रमण अवधिका निम्ति आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीयसचिव रामबहादुर विष्ट छन् । शाह नेतृत्वको टोली यही वैशाख २२ गते स्वदेश फर्कनेछ ।