
काठमाडौं । सत्तरूढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेल ‘बैरागी’ले शिक्षक आन्दोलनमा पूर्वप्रधानमन्त्रीको तरिका राम्रो नदेखिएको टिप्पणी गरेका छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले रचनात्मक आन्दोलन भइरहेका बेला उकासेर वैशाख १४ गते झडप हुन पुगेको जिकिर गरे ।
“उकासेको पनि देखियो, उकासिएको पनि देखियो । त्यति मात्रै देखिएन सभामुख महोदय, हिजो त पूर्वप्रधानमन्त्रीको फोटो पनि देखियो । यसले के देखाउँछ भने यहाँ चर्काचर्का कुरा गर्ने त्यहाँ गएर उकास्ने गरिएको देखियो,” उनले भने ।
शिक्षक आन्दोलन भड्काउने खोज्ने को हो भन्ने छर्लंग भएको उनको भनाइ थियो । “शिक्षक आन्दोलन भड्काउने र शिक्षकका मागलाई अन्त मोड्ने, माग पूरा नगर्ने को हो भन्ने छर्लंग देखिएको छ,” उनले भने ।
उनले सरकारले संयमता नअपनाएको भए ठूलो दुर्घटना गराउन खोजेको देखिएको जिकिर गरे । वर्तमान सरकारले शिक्षकका माग पूरा गर्ने उनले बताए ।