
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले दुःखद घडीमा आफूहरू भारतको साथमा रहेको बताएका छन् । कश्मीरको पहलगाममा आतंकवादी हमलाका विषयमा उनले यस्तो बताएका हुन् ।
भारतको प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “हामी यस्ता आतंकवादी कार्यहरूको कडा निन्दा गर्छौं । जुनसुकै ठाउँमा भए पनि कुनै पनि बहानामा गरिएको आतंकवाद हामीलाई मान्य हुने छैन । यस दुःखद घडीमा हामी भारतका जनता र सरकारको साथमा छौँ ।”
नेपाली विद्यार्थी सुदीप न्यौपानेसहित दर्जनौँ मानिसको ज्यान लिने गरी आतंकवादी हमला भएको जानकारी आफूले पाएको उनले बताए ।
पत्रकार सम्मेलनमा भट्टराईले भारत आफ्नो ‘दोस्रो घर’ भएको पनि बताए । आफूले सन् १९७२ देखि १९८५ सम्म दिल्लीमा सात र चण्डीगढमा पाँच वर्ष बिताएको उनले उल्लेख गरे । उनले भने, “म तपाईंहरूसँग कुरा गर्न पाउँदा धेरै खुसी छु । दिल्ली मेरो दोस्रो घर हो । मैले यहाँबाट नै शिक्षादीक्षा प्राप्त गरेको थिएँ ।”
संविधान र राजनीतिक अस्थिरताको विश्लेषण
०७२ सालको संविधान निर्माणको समयमा संवैधानिक समितिको अध्यक्ष रहेका भट्टराईले शासन प्रणालीमा भएको कमजोरी स्वीकार गर्दै भने, “नयाँ संविधान जारी भए पनि शासन व्यवस्थामा लापरवाही र निर्वाचन प्रणालीमा कमजोरीका कारणले गर्दा अस्थिरता कायमै छ ।”
उनले संविधान निर्माणपछिका दुई निर्वाचनबाट पनि स्थिर सरकार नबनेको बताए । “एकपटक बहुमत सरकार बनेको थियो, तर दल विभाजित भएर त्यो पनि अल्पमतमा पर्यो । निर्वाचन प्रणालीमा सुधारजस्ता समस्या समाधान नगरे आउने चुनावमा पनि सोही नतिजा आउनेछ,” उनले भने ।
बाबुराम भट्राईको भनाइ पढ्नोस्–
म तपाईंहरूसँग कुरा गर्न धेरै खुसी छु । दिल्ली मेरो दोस्रो घर हो, किनभने मैले १९७२ देखि १९८५ सम्म दिल्लीमा सात वर्ष र चण्डीगढमा पाँच वर्ष बिताएँ – जुन मेरो जीवनका सबैभन्दा महत्त्वपूर्ण वर्षहरू थिए । यस अवधिमा मैले पूर्ण रूपमा भारतबाट नै शिक्षा प्राप्त गरेको हो ।
श्री लहेरीज्यूले संकेत गरेजस्तै, म नेपालमा लोकतान्त्रिक संस्थाहरू स्थापना गर्न संलग्न थिएँ । तपाईंहरूले भन्नुभएजस्तै, नेपालमा सयौँ वर्षदेखि निरंकुश राजतन्त्रले शासन गरेको थियो । र, राजालाई विस्थापन नगरिएसम्म लोकतान्त्रिक क्रान्ति पूरा हुन सक्दैनथ्यो ।
यसै उद्देश्यले प्रेरित भएर हामीले धेरै वर्षअघि आन्दोलन सुरु गर्यौँ । १९७० को दशकमा म एक विद्यार्थी संघको अध्यक्ष थिएँ । त्यस संघको नाममा मैले युवा समूह, विद्यार्थी र राजनीतिक दलहरूसँग नजिकैबाट काम गरेँ । लोकतन्त्रको लागि जनतालाई जागरुक गर्ने आवश्यकताले मैले पत्रकारिता पनि गरेँ । म यस स्थान (भारत) निरन्तर आउँथेँ, किनभने यहाँ मेरा धेरै साथीहरू छन् । र, आज तपाईंहरूसँग हुनु ठूलो आनन्दको कुरा हो ।
यहाँ आउँदै गर्दा कसैले मलाई कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बारेमा जानकारी दिए, जहाँ नेपाली विद्यार्थी सुदीप न्यौपानेसहित दर्जनौँ मानिसहरूको मृत्यु भएको छ । हामी यस्ता आतंकवादी कार्यहरूको कडा विरोध गर्दछौँ । जतासुकै भए पनि कुनै पनि बहानामा गरिएको आतंकवाद अमान्य छ । यस दुःखद घडीमा हामी भारतका जनता र सरकारको साथमा छौँ ।
दिल्लीमा हामीले रक्षामन्त्री राजनाथ सिंह र भाजपाका वरिष्ठ नेताहरूसहित धेरै नेताहरू र साथीहरूसँग भेट भएको थियो । आज हामीले रक्षामन्त्री राजनाथ सिंहजीसँग भेट गरी यहाँको वर्तमान अवस्था बुझ्यौँ । हामीले भाजपा, भारतीय राष्ट्रिय कांग्रेस, नेपालमा सेवा गर्ने पूर्वदूतहरू र अन्य नेताहरूसँग पनि छलफल गर्यौँ । यी छलफलबाट मैले नेपालको राजनीतिक अस्थिरताप्रति दिल्लीमा गहिरो चिन्ता महसुस गरेँ । मेरो विचारमा यो अस्थिरता अधुरो राजनीतिक क्रान्ति वा लामो संक्रमणकालको परिणाम हो ।
कुनै पनि राजनीतिक क्रान्तिपछि त्यसको फाइदा सामाजिक–आर्थिक परिवर्तन र द्रुत विकासको रूपमा जनतालाई मिल्नुपर्छ । मैले संवैधानिक समितिको अध्यक्षको भएर नयाँ संविधान निर्माण्मा भूमिका निभाएँ । तर, नेपालमा संविधानसभाबाट नयाँ संविधान बनाए पनि शासनमा कमजोरी र निर्वाचन प्रणालीमा त्रुटिले गर्दा लगातार राजनीतिक अस्थिरता बनेको छ ।
संविधान लागु भएपछि दुईपटक निर्वाचन भइसके पनि बहुमत सरकार टिक्न सकेनन् । एकपटक बहुमत सरकार बनेको थियो, तर दल विभाजित भएर त्यो पनि अल्पमतमा पर्यो । यदि, प्रणालीगत समस्याहरू समाधान गरिएन भने भविष्यका निर्वाचनले पनि यही नतिजा दिनेछ ।