
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आगामी बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए ।
व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै उनले सरकारको काम व्यापार गर्ने नभएको बताए । व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने कांग्रेसको मान्यता रहेको उनको भनाइ छ ।
"व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु," देउवाले भने ।
सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताए ।