
काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तीर्थराम डंगोलको पार्थिव शरीर शनिबार (वैशाख १३) अन्त्येष्टि गरिएको छ । शुक्रबार राति ७७ वर्षको उमेरमा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । उनको पार्थिव शरीर विधिपूर्वक टेकुमा अन्त्येष्टि गरिएको हो ।
उनलाई श्रद्धाञ्जली दिन आफन्त, विभिन्न पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुकलगायत व्यक्ति पुगेका थिए । केएमसी अस्पतालबाट उनको शव शनिबारै कुलेश्वरस्थित निवासमा ल्याएर विधि विधानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शवलाई श्रद्धाञ्जलीका निम्ति राखिएको थियो ।
०४३ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन काठमाडौं नगर पञ्चायतको उपप्रधानपञ्च जितेका डंगोलले उक्त व्यवस्थाको विरोध गरेकाले निलम्बनमा परेका थिए ।
निष्ठावान् र आदर्श नेताको छवि बनाएका उनी कांग्रेस काठमाडौंको जिल्ला सभापति र ०५६ सालको आमचुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विजयी हुनुका साथै स्वास्थ्य राज्यमन्त्री समेत बनेका थिए । रासस