
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चैत १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको जिकिर गरे ।
“राजावादीहरूको अब कहीँ पनि, उनीहरूले भन्ने गरेको, उनीहरूले गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः भनेजस्तै गरी असफल भइसकेको छ,” उनले भने, “अरूहरूले पनि भन्न थालेका छन्– असफल भयो । त्यो भनेको नेपाली जनता सफल भयो ।”
आउने दिनमा पनि वितण्डा मच्चिन सक्ने उनले आशंका व्यक्त गरे । प्रतिगामीलाई खबरदारी गर्ने जिम्मेवारी सबैको भएकामा उनले जोड दिए ।
अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बताए ।
विद्यालयका लाखौँ शिक्षक निरन्तर आन्दोलनमा रहँदा पनि सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले आरोप लगाए ।
उनले आफू प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्तपीडितका जायज माग सम्बोधन गर्ने पहल गरेको जिकिर गरे । हिमालयन टेली भ्वाइस