site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पश्चिम नेपालमा निरन्तर भूकम्प : के हो संकेत ? (भिडियो)
भूकम्पविद् लोकविजय अधिकारी । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । पछिल्लो समयमा पश्चिम नेपालमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ । पुस महिना लागेयता आइतबार बिहानसम्म पश्चिम नेपालका विभिन्न जिल्लामा गएका आठ भूकम्प/परकम्पको विवरण राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सार्वजनिक गरेको छ ।

यी आठमध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । आठमध्ये सबैभन्दा सानो आइतबार (पुस १४) बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का छ । अरू ६ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

यसरी निरन्तर भूकम्प जानुको संकेत के हुनसक्छ ? राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी भन्छन्, “यस्ता भूकम्पहरू दैनिक नेपालमा गइरहेका हुन्छन् । तर, विगत एक महिनाको अवधिमा ४ भन्दा ठूला भूकम्प केही बढी आएको हामी देख्छौँ ।”

उनले अगाडि भने, “भूकम्प गएको संकेतको अर्थ के हुन्छ भन्दा – साना भूकम्प जानुले त्यो ठाउँ, जुन ठाउँमा भूकम्पहरू जान्छन्, ती ठाउँहरू भूकम्पीय रूपमा जोखिम क्षेत्र हुन् । त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको छ अहिले र त्यसले कुनै समय त्यहाँ ठूलो भूकम्प जान्छ है भन्ने कुराको संकेत गर्छ ।”

तर, भूकम्प कहिले जान्छ भन्ने थाहा नहुने उनले स्पष्ट पारे । भूकम्पको संख्या कहिले कम र बढी हुने गरेको उनले बताए ।

“यिन (साना – ४ म्याग्निच्युड आसपासका भूकम्प)का अर्थ यत्ति हो कि जहाँ यी भूकम्पहरू गइरहेका छन्, त्यो ठाउँ भूकम्पीय रूपमा जोखिम भएको क्षेत्र हो । त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको हुन्छ र त्यो ठाउँ ठूलो भूकम्पको लागि सम्भाव्य भएको ठाउँ हो भन्ने देखाउँछ ।”

निरन्तर साना धक्का ठूला भूकम्पको पूर्वसंकेत हुनसक्छ ? भूकम्पविद् अधिकारी भन्छन्, “पूर्वसंकेत भन्नुलाई चाहिँ यो ठाउँ ठूलो भूकम्प जान सक्ने ठाउँ हो भन्नेलाई मान्ने हो भने त्यसलाई भन्न सकियो ।”

उनले अगाडि भने, “तर, पूर्वसंकेतको रूपमा भनेको त कुनै भूकम्प यो समयमा जाँदै छ है भन्नु हो । त्योचाहिँ हामीले के बिर्सिनु हुन्न भने भूकम्पको भविष्यवाणी गर्ने प्रविधि आजसम्म बनेको छैन । त्यो भन्नुको अर्थ – आजसम्म यो समयमा ठूलो भूकम्प जान्छ है भनेर कसैले पनि भन्न सकेको छैन ।”

भिडियो हेर्नोस्–

भिडियो : सचिन श्रेष्ठ/बाह्रखरी ।

(भूकम्पविद् अधिकारीसितको विस्तृत कुराकानी पछि प्रकाशित गर्नेछौँ)

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro