काठमाडौं । विनाशकारी गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको छ । ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो भूकम्पमा करिब नौ हजारजनाले ज्यान गुमाए । २२ हजारभन्दा धेरै मानिस घाइते भए । सानाठूला सबै गरेर त्यसका ६० हजारभन्दा बढी परकम्प मापन गरिएको छ । तीमध्ये ६ म्याग्निच्युडदेखि माथिका चार परकम्प थिए । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
“गोरखा भूकम्पका ६० हजारभन्दा बढी परकम्पहरू अहिलेसम्म रेकर्ड भएको छ,” केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बाह्रखरीसित भने, “चार म्याग्निच्युडदेखि माथिका ५९६ परकम्प रेकर्ड छ ।”
सो भूकम्पका परकम्प अझै मापन भइरहेको उनले बताए । “गोरखा भूकम्पका परकम्पहरू आइरहेका छन् । अझै पनि आइरहेका छन्,” उनले भने, “आइरहेको छ भनेको त्यसभन्दा पछिको असर जुन हुने हो, त्यो भइरहेको छ ।”
गएको चैत ४ गते बिहान रसुवामा ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो । त्यो विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका अर्का भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए ।
परकम्प पनि भूकम्पीय धक्का नै हो । यो यति समयसम्म आउँछ भनेर यकिन गर्न नसकिने भूकम्पविद् बताउँछन् । एउटै भूकम्पको परकम्प २० वर्षसम्म पनि आइरहेको विश्वमा उदाहरण रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का भूकम्पविद् शिव सुवेदीको भनाइ छ ।
“ठ्याक्कै यति समयसम्म आउँछ भन्न किन सकिँदैन भने अमेरिकामा एक/दुइटा उदाहरण छन्, एउटै भूकम्पको आफ्टर सक (परकम्प) २० वर्षसम्म पनि गइरहेका छन्,” उनले बाह्रखरीसित भने ।
केन्द्रका भूकम्पविद् कोइराला पनि परकम्प यति समयसम्म आउँछ भन्ने नहुने स्पष्ट पार्छन् ।
भूकम्प, परकम्प
सामान्य तरिकाले बुझ्दा पृथ्वी हल्लिनु नै भूकम्प हो । “साधारण भाषामा जुनसुकै कारणबाट पृथ्वी हल्लिनुलाई भूकम्प भनिन्छ । यद्यपि, यान्त्रिक रूपमा भूकम्प भनेको भौगर्भिक दरार वा भ्रंश (कमजोर सतह)मा चट्टानको अकस्मात् हुने विस्थापन प्रक्रिया हो,” केन्द्रको पुस्तिकामा उल्लेख छ, “भ्रंशको तलमाथि वा दायाँबायाँ रहेका चट्टानका खण्डहरू विपरीत दिशातिर विस्थापन हुँदा भूकम्प जान्छ ।”
परकम्पचाहिँ ठूलो भूकम्पपश्चात् त्यसको दरार क्षेत्रमा मापन गरिने साना धक्का हुन् । परकम्प हुन सोही क्षेत्रको मुख्य धक्का वा भूकम्पभन्दा सानो हुनुपर्ने सुवेदी बताउँछन् ।
“कुनै पनि मुख्य भूकम्पको परकम्प हुनको लागि दुइटा रोलचाहिँ आफ्टर सकले मान्नुपर्छ । पहिलो रोल भनेको मेन सकले रप्चर (दरार) गरेको एरियाभित्रमा आउनुपर्छ आफ्टर सक । त्यो भनेको मेन सकले हल्लाएको ठाउँहरूभित्र नै आउनुपर्छ,” उनले भने, “दोस्रो रोलचाहिँ आफ्टर सक मेन सकभन्दा जहिले पनि सानै हुनुपर्छ ।”
त्यसो भए ०७२ सालको भूकम्पको दरार रहेको गोरखादेखि दोलखा, रामेछापसम्मको क्षेत्रमा जहिल्यै आउने पनि परकम्प हुन्छ ? केन्द्रका भूकम्पविद् कोइराला स्पष्ट पार्छन्– हुँदैन ।
“गोरखा भूकम्पले दरार पारेको आसपासको क्षेत्र हुनुपर्यो, एउटा त्यो हो । अर्को, गोरखा भूकम्पभन्दा पहिलाको स्थितिमा नआएसम्मका भूकम्प, रेसियो (अनुपात) बढी भएसम्मका भूकम्पलाई हामी परकम्प भन्छौँ,” उनले भने ।
कहिलेसम्म परकम्प ?
सानो म्याग्निच्युडको भूकम्पको परकम्प थोरै समयसम्म आउने हुन्छ । ठूलो भूकम्पको परकम्प लामो समयसम्म आउने सुवेदीले जानकारी दिए । “म्याग्निच्युडअनुसार समयचाहिँ फरक हुन्छ,” उनले भने, “तर, यति नै समयसम्म भन्ने हुँदैन ।”
भूकम्पविद्का अनुसार, पूर्ववत् अनुपातमा नफर्कुन्जेलसम्मको अवस्थालाई परकम्प भनिन्छ । त्यो भनेको मुख्य भूकम्प जानुभन्दा अगाडिको अवस्थामा नफर्कंदासम्म दरार क्षेत्रमा मापन गरिने कम्पन परकम्प हुन्छ ।
“साइन्टिसले हेर्ने कसरी हो भने, उदाहरणका लागि गोरखा भूकम्प, गोरखा भूकम्प जानुभन्दा पहिला दिनमा कतिवटा भूकम्प जान्थे त्यो एरियामा, महिनामा कतिवटा जान्थे, त्यो रेट र अहिलेको रेट बराबर छ कि छैन ? यदि, गोरखा भूकम्प जानुभन्दा पहिलाको रेटसँग अहिलेको रेट सम्बन्धित ठाउँमा बराबर छ भने आफ्टर सक सकियो भनेर बुझ्छौँ हामी,” सुवेदीले भने ।
यसलाई अझै सरल तरिकाले यसरी बुझ्न सकिन्छ, ०७२ वैशाख १२ गतेको मुख्य धक्काअघि गोरखादेखि दोलखा–रामेछापसम्म दैनिक जतिवटा भूकम्प मापन गरिन्थ्यो, अहिले त्योभन्दा बढी गरिँदै छ । सो क्षेत्रमा ०७२ सालअघिकै जस्तो संख्यामा भूकम्प मापन हुन थालेपछि परकम्प सकिएको मानिन्छ । अर्थात्, संख्या घट्दै गएर पहिलेकै जस्तो अनुपातमा मापन गरिने त्यस्तो धक्कालाई भूकम्प भन्न थालिन्छ ।
“परकम्प हो कि होइन भनेर हेर्नेचाहिँ (गोरखादेखि दोलखा–रामेछापसम्मका निम्ति) त्यो भूकम्प गोरखाभन्दा पहिले जस्तो स्थिति थियो, गोरखाभन्दा पहिला जुन रेसियोमा भूकम्प आउँथ्यो, त्योभन्दा अहिलेसम्म पनि २.५ प्रतिशतभन्दा बढी भूकम्पहरू आइरहेको छ,” कोइरालाले भने ।
सो क्षेत्रमा ०७२ वैशाख १२ भन्दा पहिलाको अनुपातमा भूकम्प आउन थालेपछि त्यसलाई परकम्प नभनिने उनले स्पष्ट पारे । “पहिला (गोरखा भूकम्पअघि) एक दिनमा पाँचवटा भूकम्प आउँथ्यो भने (उदाहरणका लागि) अहिले २.५ प्रतिशत बढी १२ वटा आउँछ । पहिला तीनवटा आउँथ्यो भने अहिले पाँच/छवटा आउँछ,” उनले भने, “त्यसको रेसियो पहिलाको भन्दा बढी छ । त्यही भएर हामी त्यसलाई परकम्प भन्छौँ । तर, पहिलेको रेसियामा कहिलेसम्म पुग्छ, ठ्याक्कै भन्न सकिँदैन ।”
कोइराला अझै स्पष्ट पार्दै भन्छन्, “परकम्प भनेको पनि भूकम्प नै हो । खालि के भन्दा ठूलो भूकम्प गएर त्यसले दरार पारेको क्षेत्रमा पुरानो अवस्थाभन्दा बढी रेसियोमा भूकम्पहरू आइराख्दा त्यसलाई परकम्प भनिएको हो ।”
सुवेदी र कोइरालाका अनुसार, वैज्ञानिकले यही तरिकाबाट भूकम्प र परकम्प छुट्ट्याउने गर्छन् । “हामीले हेर्ने भनेको पहिलेको ठूलो भूकम्पले दरार पारेको क्षेत्र हो कि होइन भनेर हेर्ने हो । अर्को, त्योभन्दा पहिलाको भूकम्पको रेसियोमा आयो कि आएन भनेर हेर्ने हो,” कोइरालाले भने, “त्यो रेसियामा आयो भने नयाँ भूकम्प भयो, त्यो रेसियोमा आएको छैन भने परकम्प भयो ।”
०४५, ०९० सालको भूकम्पको परकम्प आउँदै छ ?
वि.सं. १९९० माघ २ गते पूर्वी नेपालमा ८.२ म्याग्निच्युडको महाभूकम्प गयो । ०४५ भदौ ५ गते बिहान पौने ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गयो । ०४५ सालको भूकम्पको केन्द्रविन्दु उदयपुर थियो । यी दुवै भूकम्पमा जनधनको ठूलो क्षति भयो ।
गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५० भन्दा बढी मानिसको मृत्यु भयो । साढे ३०० भन्दा बढी मानिस घाइते भए । नेपालमा जनधनको ठूलो क्षति गरेको यो पछिल्लो भूकम्प हो ।
स्वाभाविक रूपमा जिज्ञासा उत्पन्न हुनसक्छ, यी भूकम्पका परकम्प आइरहेको छ कि छैन ? भूकम्पविद्द्वय सुवेदी र कोइरालालाई यो प्रश्न गरियो ।
“२०४५ सालको भूकम्प गएको उदयपुरमा भूकम्पचाहिँ जान्छ, तर त्यसलाई हामी परकम्प किन भन्दैनौँ भने त्यो पुरानै रेसियोमा फर्किसक्यो,” कोइरालाले भने, “उदयपुरमा ठाउँ त्यही भएर गए पनि अहिले परकम्पचाहिँ होइन ।”
०९० सालको भूकम्पका बारेमा धेरै विषय स्पष्ट छैन । त्यो भूकम्पको केन्द्रविन्दु नेपाल–बिहार सिमानमा रहेको खानी तथा भूगर्भ विभागको वेबसाइटमा उल्लेख छ । तर, त्यसको केन्द्रविन्दु नै यकिनसाथ भन्न नसकिने भूकम्पविद् बताउँछन् । त्यसैले त्यसको परकम्पका बारेमा उनीहरू कुनै निष्कर्षमा पुग्न सक्दैनन् ।
“९० सालको बारेमा के छ भने त्यतिखेर हामीसँग इन्स्ट्रुमेन्टहरू पनि थिएन । केही थिएन । कसैलेको त्यसको इपिसेन्टर नेपाल–बिहार बोर्डर हो भन्छन् । कसैले होइन, संखुवासभा हो भन्छन्,” कोइरालाले भने, “त्यसैले ठ्याक्कै यही हो भनेर भन्न सकिँदैन, किनभने हामीसँग रेकर्ड छैन ।”
त्यति बेला प्रविधि नै थिएन । विस्तृत अध्ययन, अनुसन्धान सम्भव भएन । ०९० सालको भूकम्पको केन्द्रविन्दु, त्यसले चिरा पारेको ठाउँ यकिन नहुँदा भूकम्पविद् सोबारेमा स्पष्ट भन्न सक्दैनन् ।
“९० सालमा हामीसँग मेजरिङ गर्ने इन्स्ट्रुमेन्टहरू थिएन । धेरै कुरा अध्ययन नै भएको छैन । मानौँ, ९० सालको भूकम्प ८ (म्याग्निच्युड) को हो भने त्योभन्दा तलका, ७ का, ६ का भूकम्प देखिएका छैनन् त्यतातिर,” सुवेदीले भने, “सानासाना चारका, पाँचका मात्रै छन् । आफ्टर सक आएका त हुन सक्छन्, अध्ययनको कमीले गर्दा हामीले यकिनसाथ भन्न सक्दैनौँ ।”
उनीहरूका अनुसार, ०९० सालको भूकम्पका परकम्पका बारेमा बताउने कुनै आधार छैन । विश्वमा त्यो भूकम्पको धेरै अध्ययन नगरिएको सुवेदी बताउँछन् ।
“त्यो भूकम्पको रप्चर एरिया कति थियो भन्ने गोरखा भूकम्पको जस्तो गरिएन, किनभने त्यो बेला सिस्टम थिएन । इन्स्ट्रुमेन्ट थिएन,” उनले भने, “सिस्मोमिटर जन्मेकै सन् १९६० पछाडि हो । धेरै कुराले गर्दा विश्वभरमा धेरै अध्ययन हुन पाएन ।”
जाजरकोट भूकम्प (कात्तिक १७) क्षेत्रमा भने परकम्प नै भनिँदै छ । अर्थात्, त्यो क्षेत्रमा धक्का पूर्ववत् अनुपातमा फर्किएको छैन । “जाजरकोटको परकम्प पनि मापन भइरहेको छ । तर, अहिले एकदमै कम भइसक्यो,” भूकम्पविद् अधिकारीले भने ।
०६८ असोज १ गते बेलुका ६ बजेर २५ मिनेटमा ताप्लेजुङ र भारतको सिक्किम सीमा केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गयो । सो भूकम्पमा नेपालमा ६ को मृत्यु र ३० जना गम्भीर घाइते भएका गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।
उक्त भूकम्प क्षेत्रमा स्थिति लगभग पहिलेकै जस्तो भइसकेको केन्द्रका भूकम्पविद् कोइरालाले जानकारी दिए । अर्थात्, सो क्षेत्रमा जाने भूकम्पलाई अहिले परकम्प नभनिने उनले स्पष्ट पारे । “त्यसको (०६८ असोज १) परकम्प अहिले छैन,” केन्द्रका अर्का भूकम्पविद् अधिकारीले भने ।
पृथ्वीमा सधैँ भूकम्पीय गतिविधि भइरहेको हुन्छ । भूकम्प गइरहेको हुन्छ । अधिकारीका अनुसार, नेपालमा दैनिक सरदर १० वटाजति भूकम्प रेकर्ड गरिन्छ । यो स्वाभाविक प्रक्रिया हो ।
धेरै भूकम्प मानिसलाई महसुस नै हुँदैन । विशेष गरी तीन म्याग्निच्युडभन्दा मुनिका भूकम्प महसुस नहुने भूकम्पविद्ले बताउँदै आएका छन् । त्यसैले त गोरखा भूकम्पका ६० हजारभन्दा धेरै परकम्प मापन गरिसक्दा हामीले निकै कम संख्यामा मात्र चाल पायौँ ।
भूकम्पभन्दा कतिसम्म सानो हुन्छ परकम्प ?
ठूलो भूकम्पश्चात् त्यसको दरार क्षेत्रमा साना धेरै धक्का मापन गरिन्छ । नेपालभित्र जाने कम्तीमा दुई म्याग्निच्युडसम्मका भूकम्प मापन गर्न सकिने केन्द्रको पुस्तिकामा उल्लेख छ ।
परकम्प निकै सानोदेखि मुख्य धक्काभन्दा केही कमसम्म हुनसक्छ । धेरैजसो वैज्ञानिकले परकम्प मुख्य धक्काभन्दा कम्तीमा एक युनिट (म्याग्निच्युड) कम हुनुपर्छ भन्ने गरेका नास्टका भूकम्पविद् सुवेदीले सुनाए ।
“७.८ (म्याग्निच्युड) को भूकम्प मेन सक हो भने त्यसको सबैभन्दा ठूलो आफ्टर सकचाहिँ ६.८ (म्याग्निच्युड)सम्म आउन सक्छ भन्ने वैज्ञानिकले भन्छन्,” उनले भने, “कहिलेकाहीँ एक युनिटका ठाउँमा ०.८ अथवा १.२ युनिट भएका उदाहरणहरू पनि छन् ।”
कहिलेकाहीँ केही फरक पनि हुन सक्ने उनको भनाइ छ । त्यसबारेमा प्रस्ट पार्न उनी उदाहरण नै पेस गर्छन्, ०७२ वैशाख २९ गतेको ठूलो धक्काको । दोलखा केन्द्रविन्दु भएको त्यो धक्का ७.३ म्याग्निच्युडको थियो ।
“तपाईंले प्रश्न गर्न सक्नुहुन्छ कि गोरखा भूकम्प ७.८ आयो अनि उता वैशाख २९ गतेवाला भूकम्प ७.३ आयो, त्यहाँ त एक युनिट फरक भएन,” उनले भने ।
त्यो धक्काको वास्तविकता
दोलखाको ७.३ म्याग्निच्युडको त्यो धक्कालाई पहिले परकम्प भनियो । तर, पछि त्यसबारे अर्कै तथ्य पत्ता लागेको सुवेदी बताउँछन् ।
उनका अनुसार, त्यो धक्का गोरखा भूकम्पको दरार क्षेत्रभित्र थिएन । त्यसैले त्यो परकम्प होइन, नयाँ भूकम्प हो । “त्यो (७.३ म्याग्निच्युड) भूकम्प हाम्रो गोरखा भूकम्पको रप्चर एरियाभित्र थिएन, त्योचाहिँ पछाडि थाहा भयो हामीलाई रिसर्च गर्दा,” उनले भने, “त्यो ठ्याक्कै गोरखा भूकम्पले रप्चर गरेको एरियाको मार्जिनभन्दा बाहिर रप्चर भएको थियो । त्यो त्यहाँ छुट्टै नयाँ अर्थक्वेक भयो ।”
त्यो धक्कालाई आफूहरूले ‘टिगर अर्थक्वेक’ भन्ने गरेको उनले बताए । गोरखा भूकम्पकै कारण दोलखाको त्यो धक्का आएको उनको ठहर छ । “बारपाकबाट भूकम्पले धकेल्दै धकेल्दै लग्यो, रप्चर हुँदै हुँदै गयो । सिन्धुपाल्चोकसम्म गोरखा भूकम्पको रप्चर गयो । त्यहाँ (दोलखा) पहिल्यै भएको इनर्जी प्लस गोरखाबाट रप्चर हुँदै हुँदै जाँदा इनर्जीचाहिँ थपियो र त्यहाँ भइरहेको इनर्जीलाई ‘टिगर’ गरिदियो,” उनले भने, “गोरखा भूकम्पका कारणले दोलखा भूकम्प आएको भनेर हामीले टिगर अर्थक्वेक भन्छौँ ।”
उनले यसलाई अझै सरलीकरण गर्ने प्रयास गरे । उदाहरण प्रस्तुत गरे । “जस्तो, पहिरो जाँदा माथिबाट ठूलो ढुंगा खस्यो, तल अलिअलि खस्लाजस्तो भएको ढुंगा भीरमा बस्या छ भने माथिको ढुंगाले हान्दाखेरि अर्को ढुंगा पनि खस्छ नि,” उनले भने, “हो, टिगरवाला भूकम्प हामीले दोलखाको भूकम्पलाई भनेका छौँ ।”
त्यसो त गोरखा भूकम्पको मुख्य धक्काको म्याग्निच्युड कतै ७.६, ७.८ र ७.९ सम्म पनि लेखिएको देखिन्छ । यसबारेमा स्पष्ट पार्न उनै भूकम्पविद् अधिकारीलाई आग्रह गरियो ।
“गोरखा भूकम्पको लोकल म्याग्निच्युडचाहिँ ७.६ । अनि, अर्को मोमेन्ट म्याग्निच्युड भन्ने हुन्छ, त्यसलाई म्याग्निच्युड मात्र भने पनि हुन्छ, त्योचाहिँ ७.९ भयो फाइनल,” उनले भने, “एउटा अन्तर्राष्ट्रिय संस्था छ, त्यसले संसारभरिका डाटाहरू लिएर दुई वर्षपछि त्यसको म्याग्निच्युड निकाल्छ फाइनल ।”