site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापाले भने– संख्या छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या छ भन्दैमा जे पनि गर्न नपाइने बताएका छन् । बुधवार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सत्ता वा शक्तिमा पुग्नु भनेको ससर्त हो । आधारभूत मूल्य मान्यतासँग कहिल्यै सम्झौता हुँदैन । कांग्रेसको आस्था र विचार छ, सिद्धान्त छ, ” उनले भने, “संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संख्याले सरकार बन्छ । पार्टीमा निर्णय गर्दा पनि त्यस्तै हो । तर बहुमत भए पनि पार्टीले गरेको निर्णय आम कार्यकर्ताले स्वीकार गर्छ कि गर्दैन भन्ने हेर्नुपर्छ ।”
थापाले कांग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताए ।

महामन्त्री थापाले भने, “नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौँ । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन । चुनाव जितेरमात्रै राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली कांग्रेस त चुनाव नलडेको बेलामा पनि राष्ट्रिय पार्टी हो । पञ्चायतमा कहिल्यै चुनाव लडेन । राजाले गराएको चुनाव लडेन । माओवादीसँग २०६५ मा चुनाव हार्‍यो । हामीलाई चुनाव जित्नु र हार्नुले निर्धारण गर्दैन । राष्ट्रिय शक्ति त्यो हो जसले चुनावका आधारमा मत प्राप्त गर्दछ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो ।”
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्