
काठमाडौं । चोरीको स्कुटर प्रयोग गरी लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानहरूबाट स्कुटर चोरी गरी सोही स्कुटरहरू प्रयोग गरी लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको फेदी खोला घर भई हाल काठमाडौंको धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोटको लिखु गाउँपालिका–३ घर भई काठमाडौंको फुटुङ बस्ने २५ वर्षीय संग्राम राई, सुनसरीको लेटाङ नगरपालिका–३ घर भई फुटुङ बस्ने २१ वर्षीय दिपेश लिम्बू छन् । त्यस्तै, मकवानपुरको वाग्मती गाउँपालिका–५ घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २७ वर्षीय शम्भु माझी, रामेछापको रस्नालु गाउँपालिका–३ घर भई टोखा नगरपालिका–६ बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–७ घर भई टोखा नगरपालिका–३, इन्द्रेणी पुल बस्ने २२ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् ।
विभिन्न स्थानमा मानिसहरूलाई लुटपाट गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।