
काठमाडौं । कोपा इटालिया सेमिफाइनलको दोस्रो लेगमा चिरप्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध ३–० को जित निकाल्दै एसी मिलान फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति सान सिरोमा सम्पन्न मिलान ‘डर्बी’मा एसी मिलानलाई जित दिलाउन जुका जोभिचले दुई गोल गरे । टियानी रेइन्डर्सले अर्को एक गोल थपे । योसँगै मिलानले समग्रमा ४–१ को जितसहित फाइनल यात्रा तय गरेको हो । यी दुई टिमबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
खेलको ३६औँ मिनेटमा जोभिचको गोलमा मिलानले अग्रता बनाएको थियो । ४९औँ मिनेटमा जोभिचले नै मिलानको अग्रता दोब्बर बनाए । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा रेइन्डर्सले गोल गरेपछि मिलानले सहज जित निश्चित गरेको हो ।
मिलानले अब उपाधिका निम्ति बोलोग्ना र एम्पोलीबीचको विजेतासँग खेल्नेछ ।