-1745464877.png)
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १४४ रनको लक्ष्य मुम्बईले १४.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
मुम्बईको जितमा रोहित शर्माले ४६ बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक ७० रन बनाए । सूर्यकुमार यादवले अविजित ४०, विल ज्याक्सले २२ र रायन रिकेल्टनले ११ रन बनाए ।
हैदराबादका जयदेव उन्नदकट, इशान मालिंगा र जिशन अन्सारीले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो ।
हैदराबादका हेनरिक क्लासनले ४४ बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ७१ रन बनाएका थिए । अविनभ मनोहरले ४३ र अनिकेत वर्माले १२ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्टले चार विकेट लिए । दीपक चहरले दुई विकेट लिँदा जसप्रीत बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको मुम्बईले नौ खेलमा १० अंक जोडेको छ । पराजित हैदराबाद आठ खेलबाट चार अंकका साथ नवौँ स्थानमा छ ।