
काठमाडौं । सहिद स्माक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा झापा र ब्रिगेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।
४९औँ मिनेटमा झापाका पुजन राईले गोल गर्दै अग्रता दिलाए । तर, पुजनको गोलको लिएको उक्त अग्रता खेल अवधिभर जोगाउन सकेन । खेलको इन्जुरी टाइममा ब्रिगेड ब्वाइज क्लबले मुकुन्दकुमार निउरेले गोल गर्दै टोलीलाई बराबरीमा राखे । यसपछि दुवै टोलीले अग्रता बढाउन नसकेपछि खेल बराबरीमा रोकिएको हो । बराबरीबाट दुवै टोलीले तालिकामा आफ्नो स्थान यथावत् राखेको छ ।
बराबरीबाट एक अंक बटुल्दै ब्रिगेडले दुई जित, दुई बराबरी र एक हारसँगै अंक तालिकामा छैटौँ स्थान कायम राखेको छ । त्यस्तै, झापा पनि दुई जित, दुई बराबरी र दुई हारबाट आठ अंक बनाउँदै गोलको आधारमा पाँचौँ स्थानमा छ ।