site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा आगलागी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभीको ट्रान्फर्मर (सिटी) पड्केर आगलागी भएको छ । 

गर्मीका कारण तराई क्षेत्रमा बढी विद्युत् खपत भइरहेका कारण बढी विद्युत् प्रवाह (ओभर लोड) हुँदा बुधबार बिहान करिब ७ः३० बजे उक्त करेन्ट ट्रान्फर्मरमा पड्किएर आगलागी भएको हो । 

Argakhachi Cement Island Ad

आगलागी नियन्त्रणमा आइसकेको र सिटी पड्किँदा कहाँ–कहाँ क्षति भयो भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले बताए ।

“सबस्टेसनको ठूलो ट्रान्सफर्मर पड्किएको होइन,” उनले भने, “फिडरमा कति विद्युत् गयो भनेर मापन गर्न जडान गरिएको (घरायसी विद्युत् मिटरको जस्तै काम गर्ने) करेन्ट ट्रान्फर्मर पड्किएको हो ।” 
 
आगलागीबाट उक्त ट्रान्सफर्मरमा जडान गरिएका केबल (तार) समेत जलेको प्राधिकरणको ग्रिड विकास विभागका निर्देशक कमल आचार्यले जानकारी दिए । 

उनका अनुसार आगलागीबाट सिन्धुलीतर्फ जाने ३३ केभी फिडरतर्फको विद्युत् आपूर्ति अवरुद्ध हुँदा धनुषा, महोत्तरी र सर्लाहीको केही भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

१३२ केभी लाइन भने सबै ठाउँमा चालु भइसकेको छ । हाल विद्युत् अवरुद्ध भएका क्षेत्रको आपूर्ति सुचारु गर्न अर्कोतर्फबाट लाइन जोड्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्