site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

काठमाडौं । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ का मंगलबारका खेलमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई चार विकेटले पराजित गरेको हो । जितका लागि १४० रनको लक्ष्य पाएको अत्तरियाले १८ ओभरको दोस्रो बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

अत्तरियाका टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले । विपीन रावलले २६ रन बनाए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले समान दुई–दुई तथा महेश भार र निर्मल गुरुङले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९ ओभरको पहिलो बलमा १४० रन बनाउँदै सबै विकेट गुमाएको थियो । होरिजोनको सुरुआत राम्रो हुन नसके पनि चौथो विकेटका लागि आएका कमल विष्टले ‘इनिङ’ उकास्ने काम गरे ।

विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । अत्तरियाका लागि वसन्त खत्री र भोजराज भट्टले समान तीन विकेट लिए । सुशील साउदले दुई तथा हिकमत महर र अर्जुन विकले समान एकरएक विकेट लिए ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ सुरु गरेको सुन्दरहरैँचाले निर्धारित ओभरको खेलमा १२८ रन बनाएपछि जितका लागि मालपोखरी क्रिकेट क्लबले १२९ रनको लक्ष्य पाएको थियो । विजयी लक्ष्य मालपोखरीले १७ ओभरको तेस्रो बलमा ६ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । सुन्दरहरैँचा क्रिकेट क्लबलाई मालपोखरीले चार विकेटले हराउन सफल भएको हो ।  

मालपोखरीका विजय गुुप्ताले सर्वाधिक ५९ रनको उत्कृष्ट पारी खेल्दै ‘रन आउट’ भए । सुन्दर हरैचाका लागि समिर कार्कीले दुई तथा सन्दीप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले समान एक–एक विकेट लिए ।

मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले दुई–दुई तथा सन्दीप खड्का, पंकज यादव र सोहनकुमार यादवले समान एक/एक विकेट लिए । मालपोखरीका विजय गुप्ता ‘प्लेयर अफ दी म्याच’ घोषित भए । प्रतियोगिता अन्तरगत समूह ‘डी’ दुई खेलमा दुई जितनै हासिल गरेको अत्तरिया चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार पहिलो खेलमा होरिजोनले सुन्दर हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro