
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनमा बोल्दै भावनामा बग्ने खालको जमाना आएको समेत बताए ।
“अहिले जमाना नै एकखालको असन्तुष्टि प्रधान छ । एकखालको भावनामा बग्ने खालको छ । अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ । मान्छे असन्तुष्ट छ, असन्तुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युलिङ गरेर अराजक तत्वहरू अस्थिरता ल्याउन खोज्छन्,” ओलीले भने, “व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छु त्यही मान्नुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन ।”
उनले जनमत नभएकाहरूले अराजकता सिर्जना गरेको बताए । जनमत भएको भए चुनावमार्फत सरकारमा आएर अवस्थामा परिवर्तन ल्याउने बताए । “उनीहरूलाई कहाँ पुुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन । कतिपय देशहरूमा अझ झिनामसिना आवाजहरू प्रतिगमनमा पनि सुनिन थालेका छन्,” ओलीले भने ।
उनले पाँच प्रतिशत जनमत नभएकाले सत्ता कब्जा गर्न चाहेको पनि उल्लेख गरे । “उनीहरूसँग पनि जनमत छैन । तिनीहरू मेक्सिमम् देआर अराउन्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्ज सिस्टम एन्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसिडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टु चेन्ज द गर्भमेन्ट । दे वान्ट टु क्याप्चर द पावर,” ओलीले भने, “त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरूमा अराजकताहरू देखिएको छ ।”