site stats
बाह्रखरी :: Baahrakhari
विदेश
औषधिको मूल्य ८० प्रतिशतसम्म घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिको मूल्य ३० देखि ८० प्रतिशतसम्म घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै छन् । 

सोमबार अमेरिकाभित्रका प्रिस्क्रिप्सन औषधि र फर्मास्युटिकल लगभग ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म सस्तो बनाउने विषयको एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेको फक्सन्युजले जनाएको छ ।

Argakhachi Cement Island Ad

“विश्वले धेरै वर्षदेखि अमेरिकामा किन एउटै प्रयोगशाला र एउटै कम्पनी वा फर्मास्युटिकलकाद्वारा निर्मित औषधिहरू अन्य देशको तुलनामा किन पाँचदेखि दश गुणा महँगो हुन्छन् भनेर प्रश्न उठाइरहेका छन् ?,” राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै भने, “यो एकदमै अप्ठ्यारो र लाजमर्दो थियो किनभने त्यसको कुनै साँचो जवाफ थिएन । औषधि कम्पनीहरूले वर्षौंसम्म अनुसन्धान र विकास (रिसर्च र डेभलपमेन्ट) खर्चलाई दोष दिन्थे ।” 

ती सबै खर्च अमेरिकी उपभोक्तामाथि मात्र थोपरिने गरेको उनले बताएका छन् । ट्रम्पले औषधि कम्पनीहरू चुनावमा चन्दा दिएर नीति बनाउनेलाई प्रभावमा पार्ने गरेको भन्दै लेख्छन्, “तर म र रिपब्लिकन दलसँग त्यो सम्भव छैन ।”

यो आदेशलाई डेमोक्रयाटहरूले समर्थन जनाएको र आफूले पनि वर्षौंदेखि चाहेको विषय भएको ट्रम्पले बताए ।

“हामी सही काम गर्न गइरहेका छौँ । त्यसैले म घोषणा गर्न चाहन्छु कि भोलि बिहान ९ बजे ह्वाइट हाउसमा म हाम्रो देशको इतिहासमै सबैभन्दा प्रभावशाली कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु,” ट्रम्पले भने ।

ट्रम्पका अनुसार यो कदमले अन्य देशमा औषधिको मूल्य बढाउने तर पहिलोपटक अमेरिकामा मूल्य घटाउनेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्