
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्र हिंसात्मक अपराधमा संलग्न भएका नागरिकलाई एल साल्भाडोरको जेलमा पठाउने चाहना रहेको बताएका छन् । कानुनविज्ञले भने यो कदमले अमेरिकी कानुन उल्लंघन गर्ने बताएका छन् । साथै, नागरिक अधिकारवादीलाई यसले चिन्तित बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सोमबार ट्रम्पले ह्वाइट हाउसमा एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेको भ्रमणका बेला यस्तो बताएका हुन् । उनले पत्रकारसँगको प्रश्नोत्तरमा भने, “हामीले कानुन त मान्नैपर्छ । तर, हाम्रो देशमा यस्ता अपराधीहरू छन्, जो मानिसलाई भूमिगत सडक वा बाटो (सबवे)मा धकेल्छन् र एउटी महिलालाई बेसबल ब्याटले टाउकोमा प्रहार गर्छन् । ती पूर्ण रूपमा राक्षस हुन् ।”
ट्रम्पको यो भनाइले उनी प्राकृतिक अमेरिकी र अमेरिकामा जन्मेका नागरिकलाई पनि देशनिकाला गर्न उद्दत देखिएको स्पष्ट संकेत दिएको छ ।
ट्रम्पले उनको प्रशासनले यो कानुनी छ भनेर निर्धारण गरे मात्र यस्तो विचार अगाडि बढाउने बताए । तर, यसको कानुनी प्रक्रिया कस्तो हुन्छ भन्ने स्पष्ट छैन ।
त्यहाँको कानुनानुसार अमेरिकी सरकारले कुनै पनि कारणले आफ्ना नागरिकलाई देशबाट जबरजस्ती निकाल्न सक्दैन । विदेशमा जन्मेका नागरिकको हकमा उनीहरूले आतंकवाद वा देशद्रोह गरेको पत्ता लागेमा वा नागरिकता प्राप्त गर्ने प्रक्रियामा आफ्नो पृष्ठभूमि बारेमा झुटो विवरण बताएको देखिए त्यो रद्द गरी निर्वासनमा पठाउन सक्छ ।