
काठमाडौं । वीरगन्जका व्यवसायी तथा साहित्यकार गणेशप्रसाद लाठको संस्मरणसंग्रह ‘सीमान्त सम्झना’ लोकार्पण गरिएको छ । लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिती शाह र लाठले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।
शनिबार (चैत ३०) काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक कृतिमाथि पाठकीय टिप्पणी राख्दै लेखक यादव देवकोटाले लाठको यो कृति चित्रवत् संस्मरणका रूपमा प्रस्तुत भएको आफूले पाएको बताए । नेपालको पुरानो सहर वीरगन्जको कथाव्यथा पुस्तकमा प्रस्तुत गरिएको उनले उल्लेख गरे । देवकोटाले यसमा कृतिकारको मात्र नभएर धेरै मानिसका अनुभव र अनुभूति समावेश रहेको बताए ।
कृतिकार लाठले आफ्नो जीवनका अनुभूति साझा गर्दै यो पुस्तक आउने पुस्ताका निम्ति जानकारीमूलक हुने विश्वास व्यक्त गरे ।
लाठको यो कृति पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो ।