
फागुन १६ गते, २०८१ । घरायसी कामको सिलसिलामा म घर (झापा) जान भनेर राजधानीबाट चारभञ्ज्याङ काट्दै थिएँ ।
त्यस दिन काँकडभिट्टाबाट आउने गाडी प्राविधिक कारणले आइनपुगेकोले हामी झापा जाने यात्रुहरूलाई सोही कम्पनीको धरानको बसमा राखियो । अनि, इटहरीबाट काँकडभिट्टा पठाउने व्यवस्था गर्ने भनेर गाडीका कर्मचारीले जानकारी पनि गराए ।
फागुन १७ गतेको बिहान ६ बजे म इटहरी चोकमा उत्रिएँ । म गाडी फेर्ने क्रममै थिएँ, कान्छो भाइ घनश्यामले फोन गर्यो, ‘आज राति सूर्य सर (आदर्श मावि आयाबारीका संस्थापक प्रधानाध्यापक सूर्यप्रसाद शर्मा घिमिरे) बित्नुभएछ ।’
म छाँगाबाट झरेजस्तै भएँ । म भ्याएसम्म घर पुगेको समय सूर्य सरलाई भेट्न जान्थेँ । उहाँ प्रायः घरैमा भेटिनुहुन्थ्यो । गुरुआमासहित अरू सामाजिक काम सबैबाट मुक्त हुनुभएको थियो ।
जेठो छोरो अशोक वकालती पेसा गर्दै दिल्लीमा बस्थे । छोरी बिहे गरेर अमेरिकामा । कान्छो छोरो आलकको बसोबास काठमाडौंमा भएकोले उहाँ नकलबन्दाको पुरानो घरलाई नै आश्रयस्थल बनाएर रमाएर नै बस्नुभएको थियो ।
उहाँ काठमाडौं आएका बखत प्रत्येकपटक मैले काम गर्ने अफिस राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय विशालबजारमा भेट्न आउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘तँलाई भेट्न सजिलो छ । सहरको मुटुमा तेरो काम गर्ने अड्डा छ ।’
एकपटक उहाँहरूलाई छोरीज्वाइँले अमेरिका घुमाउने मनसायले बोलाएछन् । त्यो समयमा अमेरिका जानका लागि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात देखाउनुपर्ने व्यवस्था थियो । सोही आधारमा अमेरिकी दूतावासले भिसा दिन्थ्यो ।
सूर्य सरले मलाई आफ्नो समस्या बताउनुभयो । मैले आफैँ काम गर्ने अफिसमा उहाँको खाता खोलिदिएँ । अनि, रकमको जोहो गरेर ब्यालेन्स सर्टिफिकेट बनाउन भ्याएसम्मको सहयोग गरेँ ।
उप्रान्त विभिन्न कागजात लिएर सर अन्तर्वार्तामा सामेल हुन दूतावासमा जानुभएछ । तर खै किन हो, सत्तरी वर्ष कटेको उहाँलाई दूतावासले भिसा दिएनछ ।
भोलिपल्ट आएर मलाई भन्नुभयो । फेरि एक महिनापछि बोलाएर भिसा दिएपछि तीन महिनाका लागि भनेर अमेरिका जानुभएको थियो । तर, उहाँलाई फिटिक्कै बस्न मन नलागेर एकै महिनामा फिर्नुभएको थियो ।
पछिल्लो समयमा भने हामी सामाजिक सञ्जाल मुहारपुस्तिकामा समेत जोडिएका थियौँ । हामीबीच कुराकानी भइरहन्थ्यो ।
मैले काठमाडौंमा घरबास गरेको सुनेर सर औधी खुसी हुनुभएको थियो । र, भन्नुभएको थियो, ‘अब काठमाडौं आएको बेला तेरा घरमा पनि आउँछु है ।’ तर, मेरा गुरुलाई काठमाडौंको घरमा स्वागत गर्ने अवसर मैले पाइनँ ।
त्यस दिन म घर पुगेर नुहाइधुवाइ गरेँ । खाना खाइसकेको मात्रै थिएँ, माइलो भाइ टंकले नकलबन्दाबाट फोन गर्यो, ‘दाइ, आउने होइन ? पुराना साथीभाइ पनि खोज्दै छन् !’
लगत्तै म र कान्छो भाइ लाग्यौँ सूर्य सरको घर नकलबन्दातिर । नकलबन्दा यस्तो ठाउँ हो, जहाँबाट महेन्द्र राजमार्गको पूर्वी सीमानाकाको सुरुआत हुनुपर्ने हो । तर खै कसरी हो, पछि राजमार्गको सीमांकन काँकडभिट्टाबाट हुन पुगेछ । र, नकलबन्दा जस्ताको तस्तै रह्यो । काँकडभिट्टाले चुलिने मौका पायो ।
हामी पुगेको केही समयपछि सरको पार्थिव शरीरलाई घाटतर्फ लैजाने काम भयो । मेची किनारको ओल्लो भँगालोमा चिता बनाएर सूर्य सरलाई छोराहरूले दागबत्ती दिए ।
ठूलो संख्यामा मलामीको उपस्थिति थियो । स्कुल छाडेपछि भेट भएका कमलकुमार देवकोटा सर, स्कुलका कर्मचारी झुमनाथ भट्टराई र अरू धेरै साथीसँग भेट हुँदा मेरो मन चार दशकअघि पुग्यो ।
वाणिज्य बैंकका पूर्वकर्मचारी खगेन्द्रनाथ शर्मा ढुंगाना र राजन शर्मा दाइसँग पनि त्यहीँ भेट भयो ।
सूर्य सरको पार्थिव शरीर जल्न थालेपछि धुवाँको मुस्लो नेपाल र भारत दुवैतिर फैलिएर मडारिन थाल्यो । धुवाँको फैलावटमा भावनात्मक र पारिवारिक सम्बन्ध पनि रहेको अनुभूत गरेँ, त्यो के भने – सूर्य सरको ससुराली भारत, पश्चिम बंगाल, दार्जिलिङ जिल्लाको कालेबुङ हो, जुन दुवैतिर फैलिँदो थियो । क्रमशः मलामीहरू बाटो लाग्न थाले ।
त्यस दिन आउनुपर्ने मेरा मित्र प्रेमप्रसाद कँडेलको खोजी गरेँ मैले । उनी आउनुपर्ने थियो । तर, कारणवश उनी त्यहाँ आउन नपाएको मैले साथीहरूबाट थाहा पाएँ ।
पछि सुरेन्द्रनगरमा रहेको घरैमा पुगेर उनलाई भेट्ने रहर जाग्यो । र, हामी दाजुभाइ उनको घरतिर लाग्यौँ ।
पहिलेको गोरुगाडा हिँड्न अप्ठ्यारो बाटो अहिले पिचरोड भएछ । घरघरमा पानीका धारा जोडिएछन् । तर, उनको घरछेउमै रहेको सानो जंगल उस्तै रहेछ ! जंगल देखेर मलाई औधी खुसी लाग्यो ।
हामी पुग्दा उनी मकै छर्ने काममा व्यस्त रहेछन् । उनका छोराहरूले बोलाइदिए । केही बेरमै उनी आए । उनले चिन्दैनन् कि जस्तो लागेको थियो, तर नामै लिएर ‘सीतारामजी, हामी त ४१ वर्षपछि भेटियौँ नि !’ भने ।
उनले नै समयको पनि बेलीविस्तार लगाएपछि म अचम्ममा परेँ । हामी केही समय उनको घरमा बस्यौँ र मही पिएर बिदा भयौँ । उनको घरको महीमा मैले चार दशकअघिकै स्वाद पाएँ !
२०३४ सालको पुस महिनामा म प्रावि केन्द्र न. ३ बाट कक्षा तीन पास गरेर आदर्श निमावि आयाबारीमा चार कक्षामा भर्ना हुन गएँ । उनी अँधेरी स्कुलबाट भर्ना हुन त्यहीँ आएका थिए । यसरी हामी एकै स्कुल परिवारमा जोडिएका थियौँ ।
हामी आपसमा कसरी परिचित भयौँ त्यो सम्झना मानसपटलमा छैन । त्यसै वर्ष फागुन महिनामा हाम्रो स्कुलको छानोनजिकै एउटा हेलिकोप्टर एक्कासि टोकला चिया कमानमा गएर बस्यो ।
ठूलो टिफिनपछि हामीलाई विज्ञान विषय पढाइरहेका जगदीशप्रसाद ओली समेत बाहिर निस्किएर हेर्न थाले । हामीलाई काम पुग्यो । हामी गुरुरु स्कुलबाट निस्केर बगानको चौरमा पुग्यौँ र हेलिकोप्टर हेरेर फर्कियौँ ।
फर्किंदा लाइन लगाएर चन्द्रकुमार भट्टराई सरले चार/चार लौराको दरले दिएको सजाय आजपर्यन्त बिर्सेको छैन । सजायमा सहभागी हुने हामी निकै थियौँ ।
राजा वीरेन्द्रको शासनकालको समय थियो । जाडोको समयमा राजाको भ्रमण वर्षैपिच्छे प्रत्येक विकासक्षेत्रमा हुन्थ्यो । राजाको सवारी चलाउने काम सरकारले गर्थ्यो ।
धनकुटा मुकामबाट टोकला चिया कमानको भ्रमण गर्ने सिलसिलाको तयारीस्वरूप आएको रहेछ, त्यो सैनिक हेलिकोप्टर । त्यसको केही समयपछि राजाको सवारी टोकला चिया कमानमा हुने समाचार आयो ।
त्यस दिन हामीलाई स्कुलबाट राजा हेर्न भनेर लगियो । राजा सेनाको भेषमा थिए र चिनोस्वरूप चियाको बिरुवा आफ्नै हातमा बोकेर हेलिकोप्टर चढेका थिए ।
त्यो चियाको बिरुवा नारायणहिटीसम्म पुग्यो कि धनकुटामै रह्यो होला ? अहिले पनि बेलाबखत सोच्छु ।
साथी प्रेमप्रसाद कँडेल त्यसै बेला अनुप्रास मिलाएर कविता लेख्न सिपालु थिए । त्यो बेलाको स्कुलको शुक्रबारे अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्यिक कार्यक्रममा उनले राजाको सवारीको विषयमा कविता नै लेखेका थिए ।
उप्रान्त सूर्य सरको नेतृत्वमा स्कुल अगाडि बढिरह्यो । प्रेमप्रसाद कँडेल कक्षाको मनिटर थिए र प्रथम विद्यार्थी पनि । हामी उनका पछि थियौँ । सात कक्षामा पुगेपछि हाम्रो स्कुल माध्यमिक विद्यालयमा स्तरोन्नति हुने भयो । यो २०३८ सालको कुरो हो ।
यसका साथै हामीले माथिल्लो कक्षा पढ्नका लागि धुलाबारी जानुपर्ने बाध्यता हट्यो । तर, अर्को समस्या आयो । हामीले सबै दक्ष शिक्षकहरू पाएनौँ । निम्न माध्यमिक विद्यालयकै सरहरूले हामीलाई पढाए ।
त्यसैताका विज्ञान र गणितको शिक्षक भएर आए, कलिलो उमेरका प्रदीप बिहारी – जो हामीलाई एसएलसीको तयारी गराएर फर्किए । उनी मैथिली साहित्यका जानेमाने साहित्यकार हुन् ।
हामी शिक्षकहरूको सहयोग र आफ्नै बलबुताले आदर्श माध्यमिक विद्यालय आयाबारीको २०४० सालको एसएलसीको पहिलो ब्याजी हुन पुग्यौँ ।
पहिलो वर्ष पाँचजना साथी मात्र पास भए । हामी धेरैले पास गर्न सकेनौँ । पछि २०४१ सालमा हामी धेरैले पास गर्यौँ । तर, प्रेमजीले पास गर्न सकेनछन् ।
एसएलसीपछि म थप पढाइका लागि काठमाडौं आएँ । खाल्डोले मलाई छाड्नै मानेन र म यतै रत्तिएँ ।
समयसमयमा म मेरा मित्र प्रेमजीका बारेमा जानकारी लिइरहेको नै थिएँ । पछिसम्म पनि उनी एसएलसी परीक्षा लेख्दै थिए रे ! तर, उनलाई फलामको ढोका भनिने एसएलसी परीक्षाले उकालो लाग्न दिएनछ । र, उनी आफ्नै गाउँठाउँमा पितापुर्खाले जोडेको जग्गाजमिनमा कृषिकार्यमै रमाएर बसे ।
कालान्तरमा फोन, मोबाइल र इन्टरनेटको यत्रो विकास हुँदा पनि खै किन हो, उनलाई फिटिक्कै त्यसको मोह जागेनछ । र, उनी यसबाट टाढै बसेछन् । साथीहरू भन्थे, ‘प्रेमजी मोबाइल पनि चलाउँदैनन् ।’
४१ वर्षपछि उनलाई भेट्दा उनी र म औधी खुसी भयौँ, तर दुःखद दिनमा अर्थात् हामीले अति आदरणीय गुरु सूर्य सरलाई गुमाएकै दिन ।
म राजधानीबाट पुगेर गुरुको मलामी गएर श्रद्धाञ्जली दिएर फर्किएको थिएँ । तर, नजिकैका प्रेमजी मलामी जान नपाएर थकथक मानिरहेका थिए ।