site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
म ‘एक्सिडेन्टल राइटर’ हुँ

(अध्ययनले सिभिल इन्जिनियर, पेसाले उद्यमी व्यवसायी र सिर्जनाकर्मले एक कुशल नियात्राकार हुन्, जीवा लामिछाने । गैरआवासीय नेपाली संघको अध्यक्ष रहिसकेका लामिछानेले विश्वका १३० भन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् । ‘सरसर्ती’ संसार र ‘देश देशावर’ नियात्राकृति पाठकसामु पस्किइसकेका उनको हालै प्रकाशित पुस्तक हो, ‘अक्षत अन्टार्कटिका’ । हिउँको श्वेत साम्राज्यमा १२ दिनको यात्रा गरेर भोगेको अनुभूति उनले पुस्तकमा प्रस्तुत गरेका छन् । यही किताबमाथि केन्द्रित रहेर नियात्राकार लामिछानेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।) 

तपाईंका तीन किताब आयो, तीनवटै नियात्राका कृति । नियात्रा नै किन ?
म यात्रा गर्न मन पराउँछु । कुनै पनि यात्रामा आफूले देखेका कुरा, त्यहाँको भूगोल, त्यहाँका मानिसको रहनसहन, चालचलनका विषयमा जान्न खोज्नु मेरो रुचिको विषय हो । त्यसैले मलाई यात्राका विषयमा केन्द्रित भएर लेख्न मन लाग्छ । मलाई आफूले देखेका कुरा लेखनका माध्यमबाट पाठकसम्म पुर्‍याउन पाए उहाँहरूलाई जानकारी पनि हुन्छ भन्ने लाग्छ । त्यसैले मैले यात्रामा जाँदा यात्राले पारेको प्रभाव र आफ्ना अनुभूति पस्कने प्रयास गर्दै आएको छु ।

त्यसो त नियात्राको जुन सूत्र छ, त्यसलाई मेरो लेखनशैलीले पछ्याउँछ या पछ्याउँदैन मलाई थाहा छैन । तर, मेरो रुचि नै यात्रा र लेखनमा भएकाले त्यसलाई पाठकले रुचाउने गरी प्रस्तुत गर्दै आएको हुँ ।

लामो समय सोभियत रुसको मस्कोमा बस्नुभयो । त्यसताका पनि मस्कोमा साहित्यमा कलम चलाउने नेपाली थिए होलान्, त्यो समयमै नियात्रा लेख्ने सोचाइ थियो कि थिएन ?
म सन् १९८६ मा सिभिल इन्जिनियरिङ पढ्न भनी सोभियत संघ (रुस) गएको थिएँ । पछि मैले त्यहीँ व्यवसाय पनि सुरु गरेँ । जहाँसम्म साहित्यमा रुचिको कुरो छ, मलाई स्कुल पढ्दादेखि यतातिर रुचि हो । तर, लेख्ने अभ्यास भने त्यति सारो थिएन ।

जब सामाजिक सञ्जालले आफ्नो वर्चस्व कायम गर्‍यो, त्यसपछि आफूले घुमघाम गरेर तयार पारेको स–साना टिप्पणी, रोचक/रमाइला प्रसंगहरू त्यही सञ्जालमा हाल्न थालेँ । सामाजिक सञ्जालले मेरो लागि एउटा प्लेटफार्मको काम गर्‍यो । यसरी साथीभाइको ‘सर्कल’मा आफ्ना कुरा सेयर गर्न थालेँ । साथीहरूले पनि रुचाइदिनुभयो ।

त्यस्ता स–साना टिप्पणीलाई लामो गरेर लेख्दा यसले आलेखको रूप लिने सुझाव साथीभाइबाट पाएपछि मैले केही लम्ब्याएर लेख्न थालेँ । त्यसैले पनि म आफूलाई ‘एक्सिडेन्टल राइटर’ भन्छु । किनभने, सामाजिक सञ्जालले मलाई अचानक लेखक बनाएको हो ।

सामाजिक सञ्जाल आएपछि मात्र तपाईंले साहित्य लेख्न थाल्नुभएको हो ?
त्यसो होइन । मैले हाइस्कुल पढ्दा नै निबन्ध प्रतियोगिताहरूमा भाग लिने गरेको हुँ । केही लेखेको पनि हुँ । स्कुलमा भित्तेपत्रिका निकालिन्थ्यो, त्यसमा पनि केही लेख्थेँ । पत्रिकाको सम्पादन मण्डलीमा पनि म परेको छु ।

सोभियत संघ गइसकेपछि पढाइमा व्यस्त भइयो । त्यसपछि व्यापार/व्यवसायमा लागेँ । त्यसको व्यस्तता आफ्नै किसिमको रह्यो । तथापि, मेरो घुम्ने क्रम जारी थियो । रुसमा बसेर पढ्दा पनि म घुम्थेँ । व्यापार/व्यवसायको काम थालेपछि पनि घुम्ने क्रम जारी नै रह्यो । पछि गैरआवासीय नेपाली अभियान सुरु भयो, त्यसक्रममा पनि विभिन्न मुलुक घुमियो ।

यसरी घुम्न जाँदा देखेभोगेका कुरा टिपोट गर्ने मेरो बानी थियो । पहिले गरेका यात्राहरूलाई टिपोट र डायरी कोरेपछि लेख्नका लागि मलाई सहज बनाइदिएको हो । तर, नियात्रा लेखनको क्रम भने सन् २००९/१० पछि मात्रै सुरु गरेको हुँ ।

यसपटक ‘अक्षत अन्टार्कटिका’ किताबका रूपमा ल्याउनुभयो, यसको सोच कसरी आयो ? 
अन्टार्कटिकाको यात्रा गर्छु भन्ने सोच मेरो धेरैपहिलेदेखिकै हो । त्यो मानव बस्ती नभएको ठाउँ, सेतो साम्राज्य, कुनै पनि देशबाट शासित नभएको क्षेत्र । अन्टार्कटिका ट्रिटी सिस्टमबाट सबैको साझा घरजस्तो भएर चलेको क्षेत्र, हिम जीवजन्तु भएको स्थल र अन्तभन्दा फरक ठाउँ भएकाले त्यहाँ पनि जाने चाहना धेरैअघिदेखिको थियो । मौका जुर्‍यो, गत वर्षको जनवरी महिनामा । यसरी धेरै लामो प्रतीक्षापछि मैले अन्टार्कटिका जाने मौका पाएँ ।

त्यस्तो हिउँको साम्राज्यमा पुग्नुपर्ने हुँदा डर कतिको थियो ?
नेपालका हिमाली क्षेत्रजस्तो त्यहाँ अल्टिच्युटको कठिनाइ थिएन । हुनत त्यहाँ पनि हिमालहरू छन् । हिमाली क्षेत्रमा हाइट अल्टिच्युडको डर त होला पनि, तर हामी गएको ठाउँ हिउँ भए पनि समथर ठाउँ नै हो ।

अन्टार्कटिका एउटा ठूलो महादेश हो, जसको सानो हिस्सा उत्तरपश्चिम प्रायद्वीपमा हामी पुगेका थियौँ । अर्जेन्टिनाबाट एकदम नजिकैको समुद्री दूरी पार गरेपछि त्यहाँ पुग्न सकिन्छ । त्यसैले त्यहाँ अल्टिच्युडको डर थिएन । जहाँसम्म जाडोको कुरा छ, म रुसमा २८ वर्ष बसेकाले जाडोसँग अभ्यस्त भइसकेको थिएँ । त्यसैले जाडोको डर पनि थिएन ।

अन्टार्कटिकाबारे केही बताउनुस् न !
त्यो हिउँ नै हिउँको साम्राज्य हो । त्यहाँ औसतमा १७ सय मिटर हिउँ छ । त्यसपछि मात्रै जमिन सुरु हुन्छ । कुनैकुनै ठाउँमा त पाँच–छ किलोमिटर हिउँको बाक्लो तह छ । हामी पुगेको ठाउँमा भने अलिक पातलो हिउँ थियो । त्यहाँ अलि बढी हिउँ पग्लेको रहेछ । खासमा त्यसलाई त हिउँको चट्टानले बनेको ठाउँ भनिदिँदा हुन्छ ।

कुल १२ दिनको अन्टार्कटिका भ्रमणलाई किताबका रूपमा ल्याउनुभयो, त्यहाँ धेरै दिन बस्न पाइँदैन ?
अन्टार्कटिकामा वैज्ञानिक अनुसन्धानमा खट्ने मानिसहरूलाई मात्रै अस्थायी शिविर बनाएर बस्न दिइन्छ । हामी पर्यटकका रूपमा जानेहरूका लागि केही नियम बनाइएको छ । आईएएटीओ (इन्टरनेसनल अन्टार्कटिका टुर अपरेटर्स) एउटा संस्था छ, जसले केही नियम बनाएका छन् । त्यहाँ एक ठाउँमा एकचोटिमा एक सय पर्यटकभन्दा बढीलाई ओराल्न पाइँदैन । त्यहाँको पर्यावरणलाई मानिसहरूको आगमनले बाधा नपुर्‍याओस् भनेरै केही नीति–नियम बनाइएको छ, जसको पालना कडाइका साथ गरिन्छ । त्यसैले त्यहाँ लामो समयसम्म बस्ने कुरै हुँदैन । न त त्यहाँ घरहरू नै छन् बस्नका लागि ।

पर्यटकहरूलाई लैजानेले हेर्नलायक केही निश्चित ठाउँहरू देखाउँछन् । कहीँ पेन्गुइन, कतै शील होलान्, कतै ह्वेल प्रशोधन केन्द्र त कतै पुराना अनुसन्धान केन्द्रहरू होलान्, ती ठाउँहरूमा पर्यटकलाई लिएर गई देखाउने काम गरिन्छ ।

यसरी जाँदा पानीजहाजले नजिकैको ठाउँमा पुर्‍याएर एउटा बोटको माध्यमबाट अन्टार्कटिकामा ल्यान्ड गराएर एकडेढ घण्टा त्यहाँ घुमाएर फेरि जहाजमै फिर्ता ल्याउने गरिन्छ । र, अर्को ठाउँका लागि पानीजहाज अगाडि बढ्छ । त्यहाँ पर्यटक बस्ने खालको व्यवस्था गरिएकै छैन ।

त्यहाँ स्थायी/अस्थायी अनुसन्धान शिविरहरू थुप्रै छन्, रुस, अमेरिका, अर्जेन्टिना, चीनका शिविरहरू । भारतकै पनि तीनचारवटा अनुसन्धान केन्द्रहरू छन् । जसले अन्टार्कटिका ट्रिटी सिस्टममा दस्तखत गरेका छन्, ती देशहरूले वैज्ञानिक खोज, अनुसन्धानका लागि त्यहाँको भूमि उपयोग गर्दै आइरहेका छन् ।

१२ दिनसम्म पानीजहाजमा यात्रा गर्नुभयो ?
पानीजहाजमै यात्रा गर्ने र केही समय दिनमा दुई ठाउँमा प्रायः हाम्रो ल्यान्डिङ हुन्थ्यो । अन्टार्कटिकामा ल्यान्ड गरेपछि एकडेढ घयटामा त्यहाँ हेर्नुपर्ने ठाउँ हेर्ने र फेरि फर्केर पानीजहाजमै आउने गरिन्थ्यो ।

तपाईंले अन्टार्कटिका टेक्नुभन्दा अघि नै यो यात्राको किताब लेख्छु भन्ने निर्णय गर्नुभएको थियो नि !      
पछिल्लो समयमा लेख्नलाई मैले अभ्यास गर्ने भएकोले त्यो नितान्त नौलो ठाउँमा पुग्दा केहीचाहिँ लेख्छु भन्ने नै थियो । जब त्यहाँ पाइला टेकेँ, अत्यन्त रोचक कुरा थाहा पाइयो । त्यहाँ रहेका वैज्ञानिकहरूको टोलीले पनि हामीलाई धेरै सूचना दिनुभयो । त्यहाँका गाइडहरूले पनि धेरै कुरा सुनाए । र, पुस्तक लेखनका लागि मैले आफैँ पनि कतिपय सूचना संकलन गर्दै गएँ ।

केही समय अन्टार्कटिकाको हिउँमा बिताएपछि पानीजहाजमा समय पाइन्थ्यो । त्यसैले मैले फुर्सदमा ल्यापटपमा दिनभरिका घटना, रमाइला कुरा लेख्दै गएँ । त्यही यात्रामा नै झन्डै आधाउधी किताबका लागि आवश्यक सामग्री लेखिसकेको थिएँ ।

लेख्छु भन्ने मानसिकता बनाएर तपाईं कतै यात्रा गर्नुहुन्छ भने लेख्ने सामग्रीहरू जुनसुकै चिजमा पनि फेलापर्दो रहेछ । मैले पछिल्लो समय अनुभूति गरेको कुरा हो यो । गएको साल अन्टार्कटिका यात्रा गर्दा त झनै महसुस गरेँ । यात्राका क्रममा कुनै घतलाग्दो कुरा कसैले गरिहाल्यो भने त्यो तुरुन्तै टिपोट गरेपछि त्यसलाई कतिसम्म लम्ब्याउने भन्ने विषयमा सजिलो हुँदो रहेछ । यात्राका क्रममा सूचनाको आदानप्रदान भइहाल्छ । सहयात्रीले पनि यात्राका आफ्ना अनुभव सुनाइहाल्छन् ।

अर्को कुरा, नियात्रा लेख्ने भनिसकेपछि निजात्मकता त्यसमा भई नै हाल्छ । त्यति भएपछि त एउटा सामग्री तयार भई नै हाल्दो रहेछ ।

पछिल्लो समय कुनै पनि नयाँ ठाउँको यात्रामा जाँदा केही नयाँ कुरा देखिहालिन्थ्यो । नयाँ र रोचक कुरा थाहा पाइन्थ्यो । ती सबै कुरालाई मैले टिपोट गर्दै आएको थिएँ । अनि, फुर्सदमा आर्टिकलको रूप दिन्थेँ ।

यो यात्राका क्रममा भने मैले नेपाली भाषामा अन्टार्कटिकाको बारेमा लेखिएका पुस्तक वा सामग्री फेला पार्न सकिनँ । अंग्रेजीमा प्रशस्तै कृति रहेछन् । हिन्दीमा पनि भेटिए । त्यसैले अन्टार्कटिकाका विषयमा नेपाली भाषामा पनि पुस्तक आए नेपालीलाई नौलो होला, रुचिकर पनि होला भन्ने लागेर नै किताबको स्वरूप दिने प्रयास गरेको हुँ ।

फेरि, सामग्री पुगेको अवस्थामा किताब नै लेख्छु भन्ने सोच बनाएरै म भ्रमणमा गएको थिएँ ।

पुस्तक नै लेख्ने सोचेर यात्रा गर्न सजिलो त पक्कै थिएन होला ?
नियात्रा लेख्ने अभ्यास भएको खण्डमा गाह्रो हुन्छ भन्ने मलाई लाग्दैन । यो त अभ्यासले नै लिपिबद्ध गर्न सकिन्छ भन्ने लाग्छ । किनभने, आफूले देखेका/भोगेका/सुनेका कुरा टिपोट भइहाल्छ । त्यसमाथि केन्द्रित भएर आफ्ना अनुभूति प्रस्तुत गर्ने न हो ।

तथापि, म आफूलाई सिकारु लेखक नै भन्छु । त्यसैले मैले सरल भाषाशैलीमा यो किताब लेखेको छु ।

१२ दिनसम्म जलयात्रा गर्दै अन्टार्कटिकाका विभिन्न ठाउँ पुग्नुभयो, केही रोचक प्रसंग सुनाउनुस् न ! 
एउटा रोचक प्रसंगको सम्झना हुन्छ । अन्टार्कटिकाको चिसो पानीमा स्नान गर्ने कामलाई पोलर प्लन्च (धु्रवीय स्नान) भनिँदो रहेछ । मैले किताबमा उल्लेख गरेको छु । अन्टार्कटिकाको चिसो पानीमा स्नान गर्न हामफाल्ने गरिँदो रहेछ । त्यसका लागि पेटीले बाँधेर हामफाल्न लगाइँदो रहेछ । त्यो अनुभव पनि लिनुपर्‍यो भनेर म पनि चिसो पानीमा हामफालेको थिएँ । त्यो चिसो पानीमा स्नान गर्न साहस भने जुटाउनैपर्ने रहेछ । यो एउटा बिर्सनै नसकिने अनुभव हो भन्ने लाग्छ । यस्ता धेरै प्रसंग छन् ।

अर्को कुरो, अन्टार्कटिकामा पोस्ट अफिस पनि रहेछ । जबकि, सबैतिर पोस्ट अफिस हराउँदै गएको छ । मानव बस्ती नभएको ठाउँमा वैज्ञानिक अनुसन्धानका लागि आएकाहरूले स्वयंसेवी रूपमा त्यो पोस्ट अफिस चलाइरहेका रहेछन् । त्यहाँ पुगेकाहरूले आफ्नो घरपरिवारलाई सम्झनाका लागि पोस्टकार्ड र चिठी पठाउँदा रहेछन् । त्यो पनि नयाँ अनुभूति रह्यो ।

यस्ता धेरै अनुभूति यस पुस्तकमा समेटिएका छन् । मलाई लाग्छ, आमपाठकलाई यी कुरा रुचिकर नै होलान् ।

आख्यानात्मक शैलीबाट यो नियात्रा लेख्नुभएको छ, सामान्य नियात्राभन्दा फरक किसिमबाट लेख्नुको कारण के होला ?
मैले थोरै आख्यानात्मक शैलीबाट लेख्दा पाठकलाई केही रुचिकर हुन्छ कि भन्ने लागेर नै नयाँ शैलीबाट लेख्ने प्रयास गरेको हुँ । यसमा पनि सूचना र अनुभूति छन् । बस्, कतिपय कुरा ‘फ्ल्यासब्याक’को शैलीमा प्रस्तुत गरेको छु । तर, यो नियात्रा नै हो जुन मैले पाठकलाई सुम्पिएको छु ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro