
काठमाडौं । चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट यी दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।
दुवै एक्सन जानराका चलचित्र हुन् । ‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘पिताम्बर’लाई कृषा चौधरीले निर्देशन गरेकी छन् ।
यी दुवै चलचित्रले प्रचारमा ठूलो लगानी गरे । हाइप पनि राम्रो बनाएका थिए । तर, अग्रिम बुकिङ भने दुवैको राम्रो हुन सकेन । जसका कारण सुखद् ओपनिङको अवसरबाट यी चलचित्र टाढै रहे ।
अब यी चलचित्रको बक्सअफिस राम्रो हुन राम्रो ‘वर्ड अफ माउथ’मा भरपर्नुपर्नेछ ।
चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक सौरभ चौधरी आफैँले लेखेका छन् ।
‘पिताम्बर’ केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र हो । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायत यो चलचित्रको मुख्य भूमिकामा छन् ।