site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्नपूर्ण आरोहण सुरु, एकैदिन ३२ आरोही चुचुरोमा
तस्बिर : छाङ दावा शेर्पाको फेसबुकबाट ।

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

आरोहण सुरु भएको पहिलो दिन सोमबार (चैत २५) बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ ।

सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेका संघका महासचिव मोहन लम्सालले जानकारी दिए । अरू दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएका उनले बताए ।

आरोहण टोलीका दुई शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् । अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँपहिरोमा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकोप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरेँ । अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

वसन्तयाममा अन्नपूर्ण आरोहणनिम्ति ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर आरोही, शेर्पा, पथप्रदर्शक, मजदुर र पर्यटकले भरिएको छ ।

हालसम्म ५२० जनाले अन्नपूर्णको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटर सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगिन्छ । त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro