
काठमाडौं । मानव शरीरलाई स्वस्थ रहन भिटामिन र मिनरल्स आवश्यक पर्छ । यी पोषकतत्त्वको अभावमा मानिसको स्वास्थ्यमा समस्या हुन्छ । मानव शरीरलाई अतिआवश्यक पर्नेमध्ये भिटामिन बी१२ एक हो । भिटामिन बी१२ को कमीका कारण शरीरमा ऊर्जाको स्तर घट्छ । त्यसकारण मानिसलाई बारम्बार थकाइ लाग्ने र कमजोरी महसुस हुन्छ ।
भिटामिन बी१२ को कमीले स्नायु प्रणालीलाई पनि असर गर्छ । यसको कमीका कारण हातखुट्टा झनझन हुने वा सुन्निनेजस्ता समस्या हुनसक्छ । हिँड्न कठिनाइ हुने समस्या निम्तन्छ ।
लामो समयसम्म भिटामिन बी१२ को कमी रहे मस्तिष्क र मानसिक स्वास्थ्यमा असर गर्छ । भिटामिन बी१२ को कमीले मस्तिष्कमा न्युरोट्रान्समिटरको स्तरलाई असर गर्छ । यसले मानसिक स्वास्थ्यसम्बन्धी समस्या जस्तै, मुड स्विङ, चिडचिडापन, गम्भीर डिप्रेसन आदि हुनसक्छ ।
भिटामिन बी१२ को कमीले रातो रक्तकोषिकाको निर्माणमा बाधा पुर्याउँछ, जसले व्यक्तिको छाला पहेँलो हुनसक्छ । भिटामिन बी१२ को कमीको अर्को डरलाग्दो लक्षण भनेको जिब्रो सुन्निने, पोल्ने र रातो हुने पनि हो । यसबाहेक मुखमा अल्सर वा घाउ पनि आउन सक्छ ।
भिटामिन बी१२ को कमीले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको स्तर बढ्न सक्छ, जसले हृदयरोग र उच्च रक्तचापको जोखिम बढाउँछ ।
भिटामिन बी१२ को कमीले आँखावरपरको स्नायुलाई पनि असर गर्न सक्छ, जसले दृष्टि धमिलो बनाउने, दोहोरो दृष्टि वा अन्धोपनजस्ता समस्या निम्त्याउन सक्छ ।
शरीरमा बी१२ को कमीले मांसपेशीमा कमजोरी र समन्वयको कमी हुनसक्छ । यसले सन्तुलन कायम राख्न कठिनाइ निम्त्याउन सक्छ, जसले मानिसलाई हिँड्न असहज बनाउँछ र लड्ने जोखिम बढाउँछ । भिटामिन बी१२ को कमीले पुरुष र महिला दुवैको प्रजनन क्षमतालाई नकारात्मक असर पार्न सक्छ ।
भिटामिन बी१२ को कमीको उपचार र रोकथामका उपायका रूपमा भिटामिन बी१२ युक्त खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । यसनिम्ति मासु, माछा, अन्डा, दुग्धजन्य पदार्थ र फोर्टिफाइड अनाज आदि प्रमुख हुन् ।
तर, वैज्ञानिकले भिटामिन बी१२ को कमीबाट उपचार गर्ने नयाँ उपाय पत्ता लगाएका छन् । ‘डिस्कभर फुड’ नामक पत्रिकामा प्रकाशित एक अनुसन्धानका अनुसार, उनीहरूले स्पिरुलिना नामको एकप्रकारको हरियो बिरुवालाई जैविक प्रविधिद्वारा परिवर्तन गरी भिटामिन बी१२ तयार पारेका छन् ।
यो भिटामिनको एक मात्र स्रोत पहिले मासु, दूधजस्ता पदार्थ मानिन्थ्यो । अब यसले मासु र दूधको दिगो र कार्बनमुक्त विकल्प दिएको बताइएको छ ।
रिचमन युनिभर्सिटीका डाक्टर असाफ जाकोरले आइसल्यान्ड, डेनमार्क र अस्ट्रियाका वैज्ञानिकसँग मिलेर यो अनुसन्धान गरेका हुन् । उनीहरूले प्रकाश संश्लेषण (फोटोसेन्थेसिस) प्रक्रियामार्फत नियन्त्रित रूपमा स्पिरुलिनाको खेती गरी उत्पादन गरेका छन् । यो स्पिरुलिनाले मासुले बनाएजत्तिकै भिटामिन बी१२ सहित पौष्टिक जैविक पदार्थ बनाउँछ ।
भिटामिन बी१२ जैविक स्वरूपमा पत्ता लागेको यो पहिलोपटक हो । किनभने, यसअघिसम्म भिटामिन बी१२ जनवारको मासुमा मात्र उपलब्ध हुने बताइएको थियो । यसलाई एक महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि मानिएको छ । भिटामिन बी१२ सम्बन्धी स्वास्थ्य समस्याको समाधानमा यसले विश्वमा ठूलो योगदान दिने बताइएको छ । भिटामिन बी१२ को कमीले विश्वभर एक अर्बभन्दा बढी मानिसलाई प्रभावित गरेको बताइएको छ ।
हालसम्म भिटामिन बी१२ को कमीको उपचारका निम्ति दैनिक २.४ माइक्रोग्राम मासु र दूधजस्ता पशु उत्पादन सिफारिस गरिएको छ । मासु र दूधजस्ता पशु उत्पादनले पर्यावरणमा कार्बन उत्सर्जन, पानीको प्रयोगमार्फत ठूलो असर पार्ने गरेको छ । तर, यो नयाँ विधिले दिगो र रुखबिरुवामा आधारित विकल्प प्रदान गरेको छ । यसले भिटामिन बी१२ को कमी घटाउन मद्दत गर्नुका साथै मासु र दूध उत्पादनमा निर्भरता घटाएर पर्यावरणीय समस्या समाधान गर्न सक्नेछ ।
प्रविधिगत नवीनता
वैकल्पिक भिटामिन बी१२ तयार गर्नका निम्ति वैज्ञानिकले आइसल्यान्डको भीएएक्सए टेक्नोलजीले विकसित गरेको जैविक प्रविधि प्रणाली प्रयोग गरिएको छ । फोटोनिक म्यानेजमेन्ट (प्रकाशको नियन्त्रित अवस्था) प्रविधिको प्रयोग गर्दा स्पिरुलिनामा भिटामिन बी१२ को बढी मात्रा उत्पादन भयो । साथै, यो प्रविधिले स्पिरुलिनामा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटोरी र शरीरको प्रतिरक्षा बढाउने गुण भएका अरू जैविक कम्पाउन्ड पनि विकास गर्छ ।
यो नवीन विधिले स्पिरुलिनामा मासुजस्तै सक्रिय भिटामिन बी१२ बनाउन सफल भएको छ । प्रति १०० ग्राम स्पिरुलिनामा १.६४ माइक्रोग्राम भिटामिन बी१२ उपलब्ध हुन्छ, जबकि मासुमा ०.७ देखि १.५ माइक्रोग्राम भिटामिन बी१२ उपलब्ध हुन्छ ।
मासुको दिगो विकल्प
“यो अनुसन्धानले के देखाएको छ भने प्रकाश नियन्त्रित स्पिरुलिनाले भिटामिन बी१२ को पर्याप्त मात्रा उत्पादन गर्न सक्छ । यो पारम्परिक मासुको तुलनामा दिगो विकल्प हो,” डा. असाफ जाकोर भन्छन् ।
अनुसन्धानले विश्वव्यापी पोषणको सवालमा गहिरो प्रभाव पार्न सक्ने बताइएको छ । आइसल्यान्डले प्रतिवर्ष दुई लाख ७७ हजार ९५० टन स्पिरुलिना जैविक पदार्थ उत्पादन गर्न सक्छ । यसले प्रतिवर्ष करिब चार हजार ५५५ ग्राम भिटामिन बी१२ उत्पादन गर्नेछ, जुन १–३ वर्षका १३.८ लाखभन्दा बढी बालबालिकाको दैनिक आवश्यकता पूरा गर्नेछ ।
किन यो महत्त्वपूर्ण छ ?
यो आविष्कारले भिटामिन बी१२ को विश्वव्यापीस्तरमा भएको कमीलाई समाधान गर्नुका साथै पर्यावरणमा नकारात्मक प्रभाव पार्ने मासु र दूध उत्पादनको निर्भरता घटाउन मद्दत गर्नेछ ।