
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार (चैत १९) दिउँसो बैंकक प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्समार्फत बैंककतर्फ प्रस्थान गरेको हो ।
नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलोपल्ट थाइल्यान्डको औपचारिक भ्रमण हुँदै छ । प्रधानमन्त्री ओली थाइल्यान्डका उनका समकक्षी फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकसहितले बिदाइ गरे । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
भ्रमणक्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका विषयमा दुई र गैरसरकारी क्षेत्रबीच ६ समझदारीपत्रमा हस्ताक्षर गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय वार्तापछि सिनावातसँगै प्रधानमन्त्री ओली संयुक्त ‘प्रेस ब्रिफिङ’मा सहभागी हुनेछन् । थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।
यस्तै, चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । उनी चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्कने तय छ ।