
काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली सेनाका दुई महासेनानीको पदावधि थप गर्ने, एक सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई उपरथीको सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले अन्तराष्ट्रियस्तरको भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको छ । त्यस्तै, राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्ने र तथ्यांक प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरिएको प्रवक्ता गुरुङले बताए ।
प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले समिति बनाएको भन्दै समितिलाई विश्वास गर्न प्रतिपक्षी दललाई आग्रह गरे । समितिले निर्वाध रूपमा काम गर्न सक्ने वातावरण बनाउनका लागि सबैले सकारात्मक सुझाव दिनुपर्ने उनले बताए ।
असार ९ गते बसेको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ गठन गर्ने निर्णय गरेको थियो ।