
काठमाडौं । सपना देख्न पैसा लाग्दैन । पूरा गर्न मात्र हो पैसा र मिहिनेत लाग्ने । योजना बनाउन मात्र हो समय र दिमाग लाग्ने । विनोद (पौडेल)ले पनि देखे, सपना । हलिउडका ठूलठूला अभिनेतालाई आफ्नो सिनेमामा खेलाउने । योजना बनाए । योजना साकार बनाउन स्क्रिप्ट लेखे ।
कुन ?
‘भूठान’को ।
किन हलिउड अभिनेता नै चाहियो ? एक त चलचित्र नै अमेरिकामा खिचिँदै थियो । अर्को, नेपाल हुँदै अमेरिका पुगेका भुटानी शरणार्थीको कथा थियो, जो अमेरिकामा बसिरहेका थिए ।
ओभरसिज मार्केटमा चलचित्र बेच्न सजिलो होस् भन्ने विनोदको उद्देश्य थियो । विनोदको उद्देश्यमा मिसिए, राजेन्द्र ठकुराठी – जसले विनोदलाई सहयोग गर्ने भए, हलिउड एक्टरहरूसम्म पुग्न । राजेन्द्र विश्वकै प्रतिष्ठित सिनेमा वितरक कम्पनी बफेलो एटमा कार्यरत छन् ।
राजेन्द्रमार्फत विनोदले हलिउडका थुप्रै अभिनेतालाई आफ्नो सिनेमाका निम्ति प्रस्ताव गरे । खेलाउन होइन, प्रस्ताव पुर्याउनै कठिन ।
किन ?
“पहिला अभिनेताका म्यानेजरसम्म कुरा पुर्याउनुपर्ने । चलचित्रको स्टोरी सुरुमा म्यानेजरले पढ्ने रहेछन् । उसलाई मन परेपछि मात्रै अभिनेतालाई दिने रहेछन्,” ‘भूठान’का निर्देशक विनोद बाह्रखरीसित भन्छन्, “कथा मन परेन अथवा हाम्रो सिनेमा उद्योगको प्रभाव र उपस्थिति हेरेर नजरअन्दाज गरेर हो, थुप्रै अभिनेताले रेस्पोन्स नै गरेनन् ।”
प्रस्ताव गरे पनि अधिकांशले बेवास्ता गरेपछि विनोदले माया मारिसकेका थिए । तर, एक दिन... ।
के भयो ?
ब्रुस डर्नको फोन आयो । ब्रुस डर्नका म्यानेजरले फोन गरे । उनले भने, ‘ब्रुस तपाईंहरूसँग कुरा गर्न चाहनुहुन्छ । निर्मातासँग होइन, निर्देशकसँग कुरा गर्न चाहनुहुन्छ ।’
विनोद भन्छन्, “उहाँ (ब्रुस डर्न)ले स्क्रिप्ट पूरै अध्ययन गरेपछि मन परेर फोन गर्नुभएको रहेछ ।”
ब्रुसले विभिन्न कोणबाट स्क्रिप्टको विश्लेषण गरेका रहेछन् । विनोद ब्रुसले आफूले लेखेको स्क्रिप्टको विश्लेषण गरेको सुनेर आफैँ आश्चर्यचकित परे ।
किन ?
विनोदले सोचेभन्दा पनि गहिराइमा गए उनले विभिन्न कोणबाट अध्ययन गरेका रहेछन् ।
“उहाँले यसरी विभिन्न डाइमेन्सबाट अध्ययन गर्नुभएछ कि म लेख्ने मान्छेले पनि त्यसरी सोचेको थिइनँ । हरेक कुरा ब्रुसलाई थाहा थियो । यस्तो होला, यसरी सोचेर लेखेको होला, हैन ? भनेर सोध्नुभयो,” विनोद भन्छन्, “म हो हो मात्रै भनिरहेको थिएँ । एउटा एक्टरले स्क्रिप्ट यसरी अध्ययन गर्दो रहेछ भनेर थाहा पाएँ ।”
दुई घण्टा ब्रुसले ‘भूठान’को स्क्रिप्टबारे बोलेपछि विनोदलाई सोधे, ‘तिमी मबाट के चाहन्छौ ?’
त्यति धेरै स्क्रिप्ट अध्ययन गरेको र आफूले भन्दा फरक ‘डाइमेन्सन’बाट कथालाई हेरेको अभिनेतालाई विनोद के नै भन्न सक्थे र !
विनोदले ब्रुसलाई भने, ‘तपाईंले केही गर्नै पर्दैन । तपाईं आफैँले स्टोरीको पूर्ण विश्लेषण गरिसक्नुभएको छ । सेटमा आएर क्यामेरा फेस गरिदिए मात्रै पुग्छ ।’
ब्रुसले विनोदलाई भने, ‘नेपाली मेकरले पनि यो लेवलमा सोच्दो रहेछ ।’ हलिउडको त्यो उचाइको अभिनेताले विनोदको कामको तारिफ गरे । विनोदका आँखा भरिए । उनले भने, ‘थ्यांक यु, ब्रुस । म साँच्चै आभारी छु ।’
विनोदका अनुसार, ‘भूठान’मा ब्रुसलाई ‘टम’को भूमिकामा देख्न सकिन्छ । उनको भूमिका धेरै छैन । जम्मा एक दर्जन सिनमा ब्रुस देखिनेछन् ।
८८ वर्षीय ब्रुस ह्वीलचियरमा बस्छन् । उनको हेरचाह गर्ने छुट्टै आफ्नै टिम छ । २४ सै घण्टा एक नर्स सँगै हुन्छन् ।
ब्रुसले स्टोरी मन पराए । काम गर्ने भए । भने– म काम गर्न तयार छु ।
कुरा रह्यो, पारिश्रमिकको । पारिश्रमिक ‘डिल’ गर्थे, उनका म्यानेजरले । ब्रुसका म्यानेजरले भने– प्रतिदिन एक लाख डलर ।
विनोदको टिम प्रतिदिन एक लाख डलर दिन सक्ने अवस्थामा थिएन । तर, ब्रुसलाई आफ्नो सिनेमाबाट उम्काउन पनि चाहँदैन थियो ।
त्यसैले उनले आफूले चलचित्र बनाउनुको उद्देश्य र सम्भावित बजार तथा व्यापारको फेहरिस्त बताइदिए । त्यसपछि ब्रुस आफ्नो पारिश्रमिक केही घटाउन तयार भए ।
उनले घटाएको पारिश्रमिक पनि कम थिएन । उनका निम्ति कम थियो । नेपाली मेकरका लागि त्यो ठूलो रकम थियो ।
तर, तिर्ने वा छोड्नेमध्ये विनोदले पहिलो विकल्प रोजे । पारिश्रमिकसँगै भ्यानिटी भ्यान र होटेल सुविधा पनि उनलाई उपलब्ध गराउनुपर्ने थियो । गराए ।
तीन दिनमा ब्रुसको सिन सकियो । “कामको लामो अनुभव र विभिन्न डायमेन्सनबाट स्क्रिप्टको अध्ययन गरेकाले होला, उसको काम साँच्चै गज्जब देखिएको छ,” विनोद ब्रुसको तारिफ गर्दै सुनाउँछन्, “डाइलग डेलिभरी र अभिनय एक टेकमै ओके हुन्थ्यो ।”
ब्रुस डर्नले छुट्ने बेलामा विनोदलाई भने, ‘एभरेस्टको कुरा आयो भने सबैभन्दा पहिलो मेरो दिमागमा तिम्रो याद आउनेछ ।’
भुटानदेखि भारत, नेपाल हुँदै हाल अमेरिकामा बसोबास गरिरहेका भुटानीले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कहानी र अस्तित्वको खोजी ‘भूठान’को कथा हो ।