
काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न राजावादी प्रदर्शनकारीसँग आग्रह गरेका छन् । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले निजी घरहरुमा ढुंगामुढा र आगजनी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
“प्रहरीकै दमनका कारण निजी सम्पत्तिीमा क्षति पुग्यो, कैयन् साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ, यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु,” प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले सरकारले आफ्नो मुख थुन्न खोजेको आरोप लगाएका छन् । शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल जाँदै गर्दा राजावादीहरू नपुग्दै प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको आरोप उनले लगाएका छन् ।
तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी आफूहरूलाई कार्यक्रम सुरु गर्न नदिएको उनले जनाएका छन् । “मैले सुन्दै छु, मलाई यो सरकारले बाँकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस्, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछ,” प्रसाईंले भनेका छन् ।