site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाक्यले चार वर्षमा ३१ पटक सर्वोच्च धाए, न्याय पाएनन्– कुलमानको के होला ?

काठमाडौं । सरकारले झन्डै नौ महिना लामो रस्साकस्सीपछि नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटायो ।  घिसिङको कार्यकाल चारमहिना बाँकी रहँदै गर्दा उनलाई हटाउनु गलत भएको जिकिरसहित प्रतिपक्षी दलहरू सडक र संसद् तताउने तयारीमा छन् ।

घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउँदै नियुक्त भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति आममानिसमा आक्रोश छ । घिसिङको बर्खास्तीले सामाजिक सञ्जालदेखि सडकसम्म तातेको छ ।

पहिलो कार्यकालमा सफल मानिएका घिसिङलाई दोस्रो कार्यकाल नियुक्त गर्न व्यापाक जनदबाब थियो ।  तत्कालीन सत्ता प्रमुखमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाभित्र परेन । ओलीले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए ।

घिसिङको ठाउँमा शाक्य आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीसँगको ‘रिस’ शाक्यमाथि पनि पोखे । शाक्यसँग सामाजिक सञ्जाल त्यहीबेलादेखि नकारात्मक रह्यो ।  नयाँ सत्ता गठबन्धनसँगै ओली र ऊर्जामन्त्री दीपक खड्काको कोपभाजनमा परेका घिसिङको स्थानमा आएका शाक्यमाथि सामाजिक सञ्जाल खनिएको छ ।

शाक्य पनि पीडित 

कुलमान घिसिङ उत्तराधिकारीमा कार्यकारी निर्देशक बन्न आएका शाक्य राज्य पीडित र अदालतबाट न्याय नपाएका व्यक्ति हुन् । 

२०७३ मा कार्यकारी निर्देशक नियुक्त भएसँगै कुलमान घिसिङले लोडसेडिङ हटाएर चर्चामा आए । घिसिङको पहिलो कार्यकाल सकियो । ०७७ माघ २७ मा उनको ठाउँमा शाक्य पहिलोपटक कार्यकारी निर्देशक बने । 

०७८ असारको अन्तिममा ओली सरकार ढल्यो । शेरबहादुर देउवाको नेतृत्वमा माओवादी–एकीकृत समाजवादी सम्मिलित बनेपछि शाक्य सरकारको तारो बने । देउवा सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व माओवादीको भागमा थियो, मन्त्री थिइन् पम्फा भुषाल । 

भुषाल आएसँगै शाक्यलाई मन्त्रालय सरूवा गर्ने तयारी गरिन्् । तर, चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएको कारण देखाउँदै सरूवा हुन मानेनन् । 

ऊर्जामन्त्री भुषालसमक्ष शाक्यले प्रश्न गरे, ‘‘२०४५ साल भदौमा प्राधिकरणमा जागिर सुरू गरेको हुँ । अब ३३ वर्षपछि अन्यत्र कहाँ जाने ?’’

उनले आफू प्राधिकरण छाडेर अन्त जान नसक्ने जवाफ दिए । ऊर्जामन्त्री भुषालले बालुवाटारमै बोलाउँदै उनलाई राजीनामा दिन दबाब दिइन् । तर, उनले राजीनामा नदिने अडान लिए । 

चार वर्षका लागि कार्यकारी निर्देशक बनेका शाक्य २०७८ साउन २५ गते तत्कालीन सरकारको कोपभाजनमा परे ।  शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद सिर्जना गरी सरूवा गरियो ।  सरकारले स्पष्टीकरणबिना आफूलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी अदालत गए । 

प्राधिकरणअन्तर्गतको इन्जिनियरिङ कम्पनीमा प्रमुखको जिम्मेवारी सम्हालेका शाक्यले ६ महिनामात्रै कार्यकारी निर्देशकको रूपमा काम गर्न पाए ।  आफूलाई बिनाकारण स्पष्टीकरणको मौका समेत नदिई हटाएको भन्दै शाक्य सर्वोच्च गए । 

सरकारले कार्यकारी निर्देशकबाट हटाउनुको स्पष्ट कारण नभएको कारण देखाउँदै घिसिङको नियुक्ति बदरको माग राख्दै सरकारविरूद्ध ०७८ साउन ३२ गते सर्वोच्चमा रिट दर्ता गरे । 

तर, सर्वोच्च अदालतमा दिएको रिटका सम्बन्धमा फैसला नआउँदै माघ २८ मा कार्यकाल अवधि सकियो ।  उनी पटक–पटक अदालत धाए तर, न्याय पाएनन् । चार वर्षको अवधिमा ३१ पटक सर्वाेच्च अदालतमा तारिख धाए । 
उनको रिटमा सुनुवाइ निम्ति १३ पटक इजलास बस्यो । 

तर, उनका हकमा कुनै निर्णय भएन । न्याय नपाउँदै कार्यकाल सकिएपछि माघ २८ गते सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राधिकरणका सहकर्मीसँग भावुक बिदाइ मागे ।  ‘‘धन्यवाद, बाई बाई । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त,” उनले लेखेका थिए, “नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’’

भनिन्छ, ढिला न्याय दिनु न्याय नदिनुसरह मानिन्छ ।  न्याय नपाइ बिदा भएका शाक्यको हकमा सरकार फेरि दाहिना भइदियो । घिसिङलाई हटाएर अर्जुन कार्कीलाई कार्यकारी निर्देशक दिने तयारी थियो । तर, कार्कीले देउवा र ओलीविरूद्ध लेखेका लेखले उनको बाटो बन्द भयो ।

घिसिङको विकल्प कार्की हुन नसक्ने देखेपछि शाक्य उपयुक्त देखिए ।  अदालतबाट पनि न्याय नपाएका शाक्यको नाममा ओली र देउवाको सहमति देखियो । यसअघि शाक्य आफ्नो तलब सुविधा मिलाइदिन अनुरोध गर्दै ऊर्जामन्त्री खड्कासमक्ष आग्रह गरेका थिए ।

शाक्य उपयुक्त पात्र देखिएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाउँदै कार्यकारी निर्देशक नियुक्त गर्‍यो । कार्यकारी निर्देशक बनेपछि कार्यभार सम्हाल्दै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने र लोडसेडिङ हुन नदिनेलगायतका प्रतिबद्धता जनाएका छन् । 

यसैगरी बर्खास्तीमा परेका घिसिङ बुधबार नै सर्वोच्च पुगेका छन् । उनले गैरकानुनीरुपमा आफूलाई पदमुक्त गरिएको दाबी गर्दै बहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् । उनी आफूलाई सरकारले बदनियतका साथ स्पष्टीकरण सोधेको र पदमुक्त गरेको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro