
काठमाडौं । भनिन्छ ‘कमब्याक इज ग्रेट’ । चैत २८ गते ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा एउटा यस्तै ‘कमब्याक’ देखियो । कुनै समयमा नेपाली राष्ट्रिय फुटबल टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेकी चन्द्रा भण्डारीले नेपाली फुटबलमा पुनः पाइला चालिन् ।
मैदानमा खेलेर होइन, प्रशिक्षक भएर । जुन निकै प्रेरणादायी र नेपाली फुटबलमा नौलो छ । वास्तवमै चन्द्राको कमब्याक गर्बिलो नै छ । चोटका कारण करिब ९ वर्ष फुटबलबाट हात उठाएकी उनले एउटा नौलो प्रयास गरेकी छिन् । नेपालमै पहिलोपटक पुरुष फुटबल प्रतियोगितामा मुख्य प्रशिक्षक भएर । नेपालकै पुरानो क्लबमध्येको एक ब्वाइज युनियनकी मुख्य प्रशिक्षक बन्दै भण्डारी नेपाल डिभिजन लिगको इतिहासमा पुरुष टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो महिला प्रशिक्षक बनिन् ।
आफ्नो कमब्याकलाई लिएर भण्डारी गर्वसाथ भन्छिन्, “म कोच बन्न पाएकोमा आफैँलाई गर्व लाग्छ । वुमेन्सभन्दा मेन्सको हरेक कुरामा अलि कठिन नै हुन्छ । अलि बढी खट्नुपर्ने हुन्छ । राम्रो नै छ । मेन्सलिगमा कोच बन्न आएको, बनेको पनि । त्यसलै म आफूलाई गर्व ठान्दछु ।”
नेपाली घरेलु लिगदेखि राष्ट्रिय टोलीमा समेत स्थान बनाइसकेको नाम हो उनको । र, भण्डारीको पुनरागमन वास्तवमै प्रशंसनीय पनि छ ।
भण्डारी नेपाली राष्ट्रिय टोलीकी पूर्वसदस्य हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान पनि । टिममा कप्तान बन्नेहरूको नामावलीमा जमुना गुरुङपछि उनको नाम आउँछ । मैदानमा स्थानको आधारमा रक्षक थिइन् । तर, संकटको बेलामा गोलकिपरबाहेक जुनै पनि स्थान खेल्न सक्ने क्षमता भण्डारीमा थियो ।
सन् २०१० मा बंगलादेशमा सम्पन्न दुई अन्तर्राष्ट्रिय खेलमा समेत उनले अहम् भूमिका निर्वाह गरेकी थिइन् । सागमा महिला फुटबलले प्रवेश गरेको पहिलो खेल, ११औँ दक्षिण एसियाली खेलमा पनि उनको सहभागिता रह्यो ।
साग गेम्सको यो संस्करण ढाकामा फेब्रुअरीमा सम्पन्न भएको थियो । सोही वर्षको अन्त्यमा आयोजित पहिलो साफ महिला च्याम्पियनसिपमा समेत भण्डारीले राष्ट्रिय टिमको प्रतिनिधित्व गरिन् । जुन सोही वर्षको डिसेम्बरमा सम्पन्न भएको थियो ।
त्यसपछि सन् २०१२ मा कोलम्बेमा भएको महिला साफ च्याम्पियनसिपमा समेत स्थान बनाइन् । त्यही समयमा नेपालले कुवेत र कतारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलको कप्तानी उनले नै गरेकी थिइन् । अन्तर्राष्ट्रिय खेल करियरमा उनको नाममा दुई गोल छ । राष्ट्रिय टिममा २०१०–२०१४ सम्म अनुभव बटुलिन् ।
तर, खेलाडीको रूपमा उनको करियर लामो बन्न भने सकेन । घुँडाको चोटका कारण उनले सन् २०१६ मा बुट झुन्ड्याउने निर्णय लिइन् । भारतमा २०१६ मा सम्पन्न दक्षिण एसियाली खेलकुलका लागि बन्द प्रशिक्षणमा छनोट भए पनि चोटले भण्डारीलाई अघि बढ्न दिएन । तत्कालीन प्रशिक्षक कुमार कटुवालसँग सल्लाह गरेरै उनी बन्द प्रशिक्षणमा नजाने निर्णय लिइन् ।
खेलाडी करियर अन्त्य भए पनि उनले फुटबलप्रतिको माया र लगावलाई त्याग्न सकिनन् । यही क्षेत्रसँग नजिक रहने निर्णयसहित उनी प्रशिक्षणमा होमिइन् । त्यही निर्णयले अहिले भण्डारीलाई पुरुष लिग फुटबलमा महिला प्रशिक्षण सम्हाल्ने पहिलो महिला प्रशिक्षक बनाएको छ ।
“खेलाडीबाट कोच बन्छु भन्ने नै मेरो चाहना थियो । किनभने मलाई प्रशिक्षण मनपर्छ । पहिलेदेखि नै फुटबल खेलेको कारण छोड्नै सकिन । एउटा आफ्नो–आफ्नो नसा हुँदो रहेछ । प्लेयर भएकोले त्यसको कोच नै बन्न मनपर्योे,” बाह्रखरीसँगको कुराकानीमा उनले प्रशिक्षणसम्मको यात्राबारे यसरी बताइन् ।
‘बी’ डिभिजन लिगमा उनको लक्ष्य छ, क्लबलाई शीर्ष डिभिजन लिगमा बढुवा गर्ने । “टिमको लक्ष्य नै बढुवा हुने हो । त्यो टार्गेट लिएर हामी खेलिरहेका हौँ । सबै राम्रो छ । टिम राम्रो छ, समन्वय राम्रो छ ।”
एन्फाबाट ‘बी’ लाइसेन्स प्राप्त प्रशिक्षक भण्डारीको प्रशिक्षणलाई लिएर खेलाडीहरू पनि सन्तुष्ट छन् । डीएभी स्कुलमा समेत पुरुष टिमलाई प्रशिक्षण दिइरहेकी भण्डारीबाट आफूहरूले ग्रासरूट स्तरदेखि नै सिक्ने मौका पाएको टिमका गोलकिपर यञ्जन श्रेष्ठले बताए ।
“कोचले हामीलाई ब्याक लाइन, मिडफिल्डमा, रणनीतिहरूमा बल दिएर सिकाइ रहनु भएको छ । हाम्रो सबै गल्तीहरूमा सल्लाह दिनुहुन्छ ।”
एउटा भनाइ छ, अन्त्य नयाँ सुरुआत हो । र, त्यही अन्त्यलाई नयाँ अठोटकासाथ पुनः अघि बढाउने हो भने केही न केही परिणाम आउँछ । यो भनाइ जस्तै छ, नेपाली भण्डारीको फुटबल यात्रा ।
कुनै समय राष्ट्रिय खेलाडी थिइन्, कारणबस फुटबल यात्रा रोकियो । तर जहाँ रोकेकी थिइन्, त्यहीबाट नयाँ अठोटकासाथ पाइला चालिन् । अनि, परिणाम पनि नौलो छ, प्रेरणादायी छ– नेपाली फुटबलमा पुरुष प्रतियोगितामा प्रशिक्षक बन्ने पहिलो महिला ।