
काठमाडौं । नेपाली कविताका ‘शिखरपुरुष’ भूपी शेरचनबारेको संस्मरण ‘भूपी : छोरीको स्मृतिमा’ बजारमा ल्याइएको छ । भूपीकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन् । यो पुस्तक ‘भूपी : अ डटर्स मेम्वाएर’को नेपाली अनुवाद हो ।
आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो ।
कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रवाफिलो जीवनशैली अपनाए । यही विरोधाभासका कारण उनी सिर्जनाभन्दा बढी किस्साहरूमा बाँच्नुपर्यो ।
लेखक कविता भन्छिन्, “कवि भूपी शेरचनबारे मैले अनेकौँ किस्सा सुनेकी छु । केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्साहरूलाई मैले पुस्तकमार्फत रहस्योद्घाटन गर्ने प्रयास गरेको छु ।”
उनी थप्छिन्, “सम्पन्न परिवारमा जन्मेर पनि बुबाले किन साम्यवादी दर्शन अँगाल्नुभयो ? सर्वहारा कवि कालान्तरमा कसरी राजावादी बन्न पुग्नुभयो ? साथीभाइ र परिवारसँग उहाँको सम्बन्ध कस्तो थियो ? यस्ता प्रश्नको उत्तर दिँदै उहाँका जीवनका विभिन्न पाटा केलाउने र पाठकसमक्ष ल्याउने मेरो प्रयास यो पुस्तक ।”
नयाँ पाठकलाई नेपाली साहित्यका महान् व्यक्तित्वबारे जानकारी गराउने र उनीहरूमा श्रद्धा जगाउने प्रयासस्वरूप शृंखलाबद्ध रूपमा आफूहरूले ती व्यक्तित्वबारे संस्मरण एवम् जीवनी प्रकाशन गर्दै आएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरज भारीले बताए । “त्यही शृंखलाअन्तर्गत हामीले ‘भूपी : छोरीको स्मृतिमा’ प्रकाशन गरेका हौँ । यसअघि हामीले गोविन्द गिरी ‘प्रेरणा’ले लेखेको पारिजातको जीवनी ‘सुश्री पारिजात’ र लक्ष्मीप्रसाद देवकोटाबारे छोरा पद्म देवकोटाले लेखेको संस्मरण ‘सम्झनामा बुबा लक्ष्मीप्रसाद देवकोटा’ प्रकाशन गरेका छौँ ।”
कविताले बुवा भूपीसँगको भावनात्मक सम्बन्ध, उनीबारे चलेका हल्ला र व्यक्तित्व निर्माणका कारक केलाएकी छन् । उनले धनाढ्य पिताका सर्वहारादेखि समाजवादी कवि भूपी शेरचनसम्मको यात्रा पनि वर्णन गरेकी छन् ।
यो किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरंग चित्रमाथि प्रकाश पार्ने फाइनप्रिन्टले जनाएको छ ।