
काठमाडौं । ‘नेपालको लोडसेडिङ अन्त्य भारतले गरेको हो । उज्यालोका नायक कुलमान घिसिङ होइन है । बरू धन्यवाद भारतलाई दिऊँ,’ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधबार राष्ट्रियसभामा बोलेको अंश हो यो ।
खड्काले राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै साँझको समयमा घरमा लोडसेडिङ हुनसक्ने बताए । अनौठो चाहिँ ऊर्जामन्त्री खड्कासँग सांसदहरूले लोडसेडिङबारे प्रश्न गरेका थिएनन् ।
तर, मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि रिस फेर्न विनाप्रसंग उक्त प्रसंग ल्याए ।
नेकपा माओवादी (केन्द्र)का सांसद भुवनबहादुर सुनारले कृषिसम्बन्धी प्रश्न गरेका थिए । ‘सिँचाइ पूर्वाधारको मात्रै विकास भएको हो वा बाह्रै महिना पानी पनि पठाइएको छ ? २५ लाख हेक्टरमध्ये कतिमा सिँचाइ सुविधा भएपछि कृषिमा आत्मनिर्भर हुन्छ ? मन्त्रालयले यसबारेमा अध्ययन गरेको छ ?’ सुनारको प्रश्न थियो ।
उक्त प्रश्नको जवाफमा उनले ग्राहस्थ वर्गमा पनि लोडसेडिङ हुने अभिव्यक्ति दिए । अर्थात् आफैँ मातहतका एक अधिकृतमाथि मन्त्री खड्काले व्यक्तिगत तहमै उत्रँदै टिप्पणी गरे । घिसिङलाई मिलेको ‘उज्यालोको नायक’ नागरिक उपाधि समेत उनले पचाएनन् ।
लोडसेडिङ अन्त्य गरेका कारण घिसिङले नागरिकस्तरबाट ‘उज्यालोको नायक’को उपाधि पाएका थिए । तर, उक्त उपाधिमा समेत खड्काको चित्त दुखाइ देखियो । लोडसेडिङको अन्त्य भारतले गरिदिएको जिकिर लिँदै कुलमानलाई होइन भारतलाई धन्यवाद दिनुपर्ने बताए ।
“उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है,” उनले भने, “बरू यो धन्यवाद भारत सरकारलाई दिऊँ । निजी क्षेत्रलाई दिऊँ, जसले उत्पादन गरेको छ । जसले परिपूर्ति गरिदिएको छ ।”
त्यसो त, घिसिङ खड्काको आँखाको कसिंगर बनेका छन् । साउनदेखि मन्त्रालयको जिम्मा पाएका खड्का सुरूका दुई महिना चुपचाप रहे । तर, त्यसयता घिसिङलाई जसरी पनि निकाल्ने योजनामा लागेका छन् ।
घिसिङसँग पटक–पटक स्पष्टीकरण समेत सोधेर हटाउन ठीक पार्दा पार्टीबाटै त्यसको विरोध भयो । स्वंय नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले त्यसको विरोध गरे । पार्टीका अन्य सांसद तथा प्रतिपक्ष एवं जनतामा लोकप्रिय घिसिङलाई हटाउन खोज्दा पार्टीकै सांसदको विरोध र आफूसँग नझुकेको आक्रोश बुधबार राष्ट्रियसभामा पोखे ।
उनले गत फागुन २२ गते प्रतिनिधिसभामा पनि त्यही कुरा उल्लेख गरेका थिए । तर, उक्त बैठकमा केही नरम देखिएका खड्का राष्ट्रियसभामा भने निकै आक्रोशित मुद्रामा देखिए ।
प्रसंग र प्रश्न नउठेको विषयमा जवाफ सुन्दा उनमा ‘कुलमान फोबिया’ भएको देखिन्थ्यो । अर्थात्, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि उनी कुलमानविरूद्ध खनिइरहेका छन् ।
कुलमानकै कारण विद्युत् प्राधिकरणले सही ढंगले काम गर्न नसकेको आरोप लगाए । विभागीय मन्त्रीको हैसियतमा विद्युत् व्यवस्थापन कसरी गर्नेभन्दा पनि घिसिङलाई कसरी गिराउने भन्नेमा तल्लीन देखिएको स्पष्ट हुन्छ । मन्त्रालय र प्राधिकरण मिलेर विद्युत् व्यवस्थापन गरी उद्योगमा विद्युत् कसरी उपलब्ध गराउनेतिर होइन घिसिङलाई हटाएर आफ्नो स्वार्थ पूरा गर्न लागेको उनीमाथि आरोप छ ।
पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय सरकारले एक अधिकृतमाथि ‘अति गरेको’ टिप्पणी गर्छन् । “प्राधिकरणमा करार गरिएका कर्मचारी कुनै राजनीतिकर्मीका कारिन्दा होइनन्,” उनले भने, “त्यस पदका लागि योग्य हुनेगरी छानिएका हुन्छन् । नयाँ मन्त्री आउनेबित्तिकै म आएँ, तिमीहरू जाऊ भन्न त मिल्यो र ? कर्मचारीले पनि मानिदिन मिल्छ र ? तर, त्यो त्यति राम्रो मानिँदैन ।”
मन्त्रीले आफ्नो टिम बनाउन कुनै योग्य कर्मचारीलाई निकाल्न कै लागि ऊर्जा क्षेत्र तहसनहस बनाउन नहुने उपाध्याय बताउँछन् । “मन्त्रीले आफ्नो टिम बनाउन त मिल्यो । तर, गैरकानुनी हर्कत गर्न हुँदैन,” उनले भने, “निकै कमजोर पात्र भए त हटाउन मिल्यो । तर, योग्य हुँदाहुँदै पनि हटाउनु गलत हो । त्यो नेपाल सरकारसँग गरिएको करार हो । कुनै अमुक मन्त्री वा प्रधानमन्त्रीसँग गरिएको करार होइन ।”
सरकारको यस्तो कार्यले कर्मचारीतन्त्रमा बेथिति ल्याउने उपाध्याय बताउँछन् । “सरकार परिवर्तन हुनासाथ उक्त पार्टीका कारिन्दालाई ठाउँ दिन पनि यस्ता कार्य गर्न लगाउँछन्,” उनले भने ।
लोडसेडिङको अफवाह !
“सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,” खड्काले भने, “हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ ।”
८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको उनले बताए । करिब एक हजार मेगावाट विद्युत् रहेको उनको भनाइ छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको उनले प्रष्ट पारेका छन् ।
प्राधिकरणले माग व्यवस्थापन तीन भागमा विभाजन गरेको छ । बिहान ६ देखि बेलुका ६, बेलुका ६ देखि १० र राति १० देखि बिहान ६ सम्म ।
नेपालको उच्च माग दुई हजार मेगावाटको हाराहारी छ । बेलुका घरायसी उपकरणहरू चल्न थालेपछि माग बढेर २ हजार मेगावाटको हाराहारीमा पुग्ने गरेको छ ।
सामान्य अवस्थामा माग करिब १२/१३ सय मेगावाटको हाराहारीमा आउँछ । विद्युत् जडित क्षमता ३५१२ मेगावाट पुगेको छ । अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) आयोजना भएका कारण हिउँदमा उत्पादन एक चौथाइमा आउँछ ।
यतिखेर त्यस्ता आयोजनाहरूको उत्पादन एक हजार मेगावाटको हाराहारीमा झरेको प्राधिकरणको तथ्यांक छ । उच्च माग भएका बेला कुलेखानी, माथिल्लो तामाकोसीजस्ता आयोजना चलाएर प्राधिकरणले माग पूर्ति गर्छ ।
“दिउँसो भारतबाट बिजुली आयात गरेर जलाशय र अर्धजलाशययुक्त आयोजनामा पानी जम्मा गर्छौं,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “पीक डिमान्डका बेला त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्छौं ।”
१६ मार्चदेखि भारतले घाम लाग्ने समय (सोलार आवर)मा मात्रै बिजुली दिने भएका कारण उद्योगहरूमा भने साँझ लोडसेडिङ भएको उनी बताउँछन् । “साँझ भारतले बिजुली दिन छाडेपछि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरूमा लोड कटौती भएको छ,” उनले भने, “भारतले नदिए पनि घरमा लोडसेडिङ हुँदैन, ढुक्क हुनुस् ।”
भारतसँग गत महिना भएको सम्झौता अनुमोदन नभए पनि घरायसी वर्गमा कटौती नहुने घिसिङ बताउँछन् ।