
काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ । इन्जुरी समयमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दा ब्राजिलले जित निकालेको हो ।
शुक्रबार बिहान ब्राजिलमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राफिन्हा र भिनिसियसले गोल गरे । कोलम्बियाका लुइज डियाजले एक गोल फर्काएका थिए ।
राफिन्हाले छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई अग्रतामा राखेका थिए । तर, ४१औँ मिनेटमा डियाजले गोल गरेपछि कोलम्बिया पहिलो हाफमै खेलमा फर्कियो ।
इन्जुरी समयमा भिनिसियसले उत्कृष्ट गोल गरेपछि ब्राजिलले रोमाञ्चक जित पक्का गरेको हो । भिनिसियसले पेनाल्टी बक्सबाहिरबाट गरेको लामो प्रहारले जाली चुमेपछि ब्राजिलले तीन अंक सुनिश्चित गर्यो ।
यो जितसँगै १३ खेलबाट २१ अंक जोडेको ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १९ अंक जोडेको कोलम्बिया तालिकाको छैटौँ स्थानमा छ ।