काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइ आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनुअगावै पूर्ण रूपमा बिक्री भएका छन् । फागुन २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन चैत ७ गतेसम्म तोकिएको थियो ।
एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो । यस फण्डले बिज पुँजीबापत १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई बिक्री गरेको थियो ।
एक प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।