site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन बोक्ने भरियाको काम गर्थे २५ करोडसहित समातिएका कुसाङ

काठमाडौं । २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले पाँच वर्षअघि काठमाडौंमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ । उनी सुन तत्करी प्रकरणमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति भएको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको डीएसपी अनिल अधिकारीको टोलीले सोमबार (चैत ४) राति ११ बजे काठमाडौंकै झोर क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो । मंगलबार (चैत ५) कार्यालयमा पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरिएको छ ।

Argakhachi Cement Island Ad

kusang-lama-1742291742.jpg
काठमाडौंबाट चीनको केरुङतर्फ जाँदै गरेको ना७ख १६५२ नम्बरको मालवाहक ट्रकसहित उनलाई पक्राउ गरिएको थियो । उनले चालक बस्ने क्याबिनको माथिल्लो भागमा लुकाएर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँबराबरको अमेरिकी डलर, युरोलगायत विदेशी मुद्रा केरुङतर्फ लैजाँदै थिए । प्रहरीले रकमसहित उनका साथबाट दुईथान मोबाइल पनि बरामद गरेको छ ।

पक्राउ परेका लामा काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका थिए । “काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका उनले सुन बोक्ने भरियाको रूपमा काम गर्दै आएको खुलेको छ । सुन तस्करीमै पाँच वर्ष जेल सजाय पनि काटेर निस्किएको पाइयो,” अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले भने, “अहिले पनि सुन किन्ने प्रयोजनका लागि सो रकम आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।”

uadsf-1742291805.jpg
उक्त ट्रक आफूले सोही रुटमा चलाउँदै आएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । आफूलाई केरुङसम्म उक्त मुद्रा पुर्‍याउन भनिएको उनले बयानका क्रममा बताएका प्रहरीले जनाएको छ ।

भन्सार तथा राजस्व छली अवैध मुद्रा कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा उनीमाथि प्रहरी अनुसन्धान जारी छ । थप अनुसन्धानका निम्ति उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

qfdg-1742291862.jpgods-1742291931.jpg

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्